बाँसगढीमा चाडबाडलक्षित बजार अनुगमन



बाँसगढी ।

बर्दियाको बाँसगढीमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया र घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको संयुक्त आयोजना र बाँसगढी नगरपालिका, बाँसगढी उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी र पत्रकारलगायतको उपस्थितिमा मंगलबार बाँसगढी बजार अनुगमन गरिएको हो ।

अनुगमन टोलीले बाँसगढी र लखनामा रहेका खाद्यन्न तथा किराना पसल, होटल तथा नास्ता पसल, फलफूल र केही मासुजन्य पसलमा अनुगमन गरेको थियो ।

विगतका वर्षभन्दा केही सुधार भएको पाइए पनि उपभोक्ताले पूर्ण स्वस्थकर र गुणस्तरीय बस्तु पाउन नसकेको अनुगमन टोलीले ठहर गरेको छ । अनुगमनका क्रममा टोलीले केही पसलहरूबाट म्याद गुज्रेका ६ हजार ६ सय ६० रुपैयाँ मूल्यबराबरका सामग्री बरामद गरी नष्टसमेत गरेकोे जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताए ।

अनुगमन टोलीले पसलमा मूल्यसूचि राख्न, म्याद गुज्रेका समान नबेच्न, व्यवसायको समयमै नवीकरण गर्न, सरसफाइमा ध्यान दिन, अनिवार्य बिलबिजक राख्न अनुरोध गरेको छ । अर्काे अनुगमनमा फेरि प्रक्रिया पूरा नभएको पाइए कारबाही गरिनेसमेत चेतावनी दिएको बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीले बताइन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकाल, बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरी, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत विश्वलाल खड्का, बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रीनाथ बराल, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको टोलीले बजार अनुगमन गरेको थियो ।

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार