बाँसगढीमा ११ केभी क्षमताको सबस्टेसन बन्दै



बाँसगढी ।

बाँसगढी नगरपालिकाको वडा नम्बर ८ मा ३३/११ केभी क्षमताको सबस्टेसन निर्माण हुने भएको छ । उज्यालो नेपाल अभियानअन्तर्गत बाँसगढी नगरपालिका–८ स्थित लक्ष्मणामा सो सबस्टेसन बन्न लागेको हो ।

यसबाट बाँसगढी नगरपालिकाका र बारबर्दिया नगरपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् भने यी क्षेत्रमा ठूला कलकारखाना सञ्चालनका लागि पनि बाटो खुल्नेछ ।

देशैभरि विद्युत विस्तार तथा स्तरोन्नति गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकारणले नेपाल वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना (डिएसयुइएफ) सञ्चालन गरेको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत सञ्चालित यो आयोजनामार्फत हाल लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न चार स्थानमा सबस्टेसन निर्माण हुन लागेको नेपाल विद्युत प्राधिकरणका प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

लक्ष्मणामा बन्न लागेको सबस्टेसनमा कोहलपुर ३३ केभी प्रसारण लाइनबाट पावर ट्रान्सफर्म गरेर ११ केभीमा रूपान्तरण गरिने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर नभनीत यादवले जानकारी दिए । सो सबस्टेसन निर्माणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए । ‘सो कामका लागि ठेक्का सम्झौतासमेत भइसकेको छ,’ उनले भने, ‘सम्भवतः यही मंसिरदेखि नै निर्माणको काम सुरु हुनेछ ।’

यो सबस्टेसनमा ६/८ एमबीका दुईवटा ट्रान्सफर्मर जडान गरिनेछन् । जसमा ९० वटा डिस्ट्रिब्युटर राखेर यस क्षेत्रमा विद्युत वितरण गरिने इन्जिनियर यादवको भनाइ छ ।

तीन अर्ब लागतमा चार ठाउँमा विद्युत विस्तार तथा स्तरोन्नति गर्न लागिएको उनले बताए । तीन अर्ब चार ठाउँका लागि भाग लगाउँदा हुन आउने करिब ७५ करोड लक्ष्मणाको सबस्टेसन निर्माणका लागि खर्च हुनेछ ।

‘अहिले नै यो बजेट ठ्याक्कै यति नै हो त भन्न सकिँदैन,’ इन्जिनियर यादवले भने, ‘दुई/चार लाख यताउता पर्न सक्छ । अन्यथा बजेट यति नै हो ।’ अन्य ठाउँमा विद्युत विस्तारकै लागि खर्च गर्नुपर्ने अवस्था भए पनि यहाँ भने विद्युत स्तरोन्नतिका लागि सो रकम खर्च गर्न लागिएको उनले बताए ।

चीनको एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको ऋण सहयोगमा सञ्चालति सो आयोजनाको निर्माण नेपाली र भारतीय ठेकेदार कम्पनीहरूले संयुक्त रूपमा गर्नेछन् । भारतीय कम्पनी सिइपिएल एसपिआर र नेपाली कम्पनी टुन्डीले निर्माणको जिम्मा पाएका छन् । दुई वर्षभित्र काम सम्पन्न गरिसक्नुपर्ने गरी सन् २०२३ जुलाईमा सम्झौता भएको छ ।

प्रभावित क्षेत्रहरूमा वातारणीय अध्ययनसमेत पूरा भइसकेको छ । वन क्षेत्र खासै नपर्ने भएकाले वातावरणीय हिसाबले पनि कुनै समस्या नरहेको उनले बताए । ‘वातावरणीय हिसाबले कुनै अवरोध छैन,’ इन्जिनियर यादवले भने ।

आयोजना सञ्चालनका लागि प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ गर्ने काम पनि सकिएको छ । आयोजनाले सोमबार कोहलपुर र मंगलबार बाँसगढी नगरपालिकामा प्रभावित क्षेत्रका बासिन्दासँग सार्वजनिक सुनुवाइ गरेको थियो । कोहलपुर नगरपालिकाका ३, ४, ५, ६, ८, १० र १५ वडा, बैजनाथ गाउँपालिकाका ५, ६ र ८ वडा, बढैयाताल गाउँपालिकाको ४ नम्बर वडा र बाँसगढी नगरपालिकाका ३, ४, ५ र ८ नम्बर वडा यसबाट प्रभावित क्षेत्रभित्र पर्छन् ।

‘प्रभावित क्षेत्रका लाभग्राहीसँग हामीले सार्वजनिक सुनुवाइ गरिसकेका छौँ,’ प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘कुनै अवरोध छैन । निर्धारित समयमै काम सुरु हुन्छ ।’

सबस्टेसन निर्माणका लागि विद्युत प्राधिकरणले एक बिघा ६ कठ्ठा जग्गासमेत लिइसकेको छ । यति जग्गा सबस्टेसन निर्माणका लागि पर्याप्त हुने प्रशासकीय अधिकृत न्यौपानेले बताए । ‘प्राधिकरणले जग्गासमेत आफ्नो नाममा ल्याइसकेको छ,’ उनले भने, ‘सबस्टेसनका लागि यति जग्गा पर्याप्त छ ।’

सबस्टेसन निर्माणमा नगरपालिका सहजीकरण गर्न तयार रहेको बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्काले बताए । निर्माणका क्रममा स्थानीयलाई रोजगारीको प्राथमिकता दिनुपर्ने र गुणस्तरीय कामका लागि कुनै सम्झौता नगरिने उनको भनाइ छ ।

‘विद्युत प्राधिकरणको ठेक्का भएकाले प्राधिकरण आफैँले पनि निरन्तर निरीक्षण गर्छ,’ नगर प्रमुख खड्काले भने, ‘हामी पनि बेलाबेला अनुगमन गर्छौं ।’

सबस्टेसन निर्माण भएर विद्युत विस्तार भएमा बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका बासिन्दाले लाभ लिन सक्नेछन् । सबस्टेसन निर्माण भएर सञ्चालनमा आएपछि बाँसगढी नगरपालिका र बारबर्दियाका जनताले कुनै पनि विद्युत समस्या भोग्नु नपर्ने बाँसगढी नगरपालिका–८ का वडाध्यक्ष तुलप्रसाद गौतमले बताए ।

‘भोल्टेज नहुने समस्याका कारण अहिले यहाँका जनता पीडित छन्,’ वडाध्यक्ष गौतमले भने, ‘यो योजना सम्पन्न भएपछि यहाँको विद्युत समस्या समाधान हुनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार