21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

बाँकेमा मनाइयो विश्व हुलाक दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २३, २०८०  

नेपालगन्ज ।

जिल्ला हुलाक कार्यालय बाँकेले विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवसको मनाएको छ । दिवसका अवसरमा सोमबार कार्यालयले कार्यालयमा सेवाग्राहीलाई स्वागत, वृक्षरोपण तथा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मानलगायतका कार्यक्रम गर्दै मनाएको हो ।

सर्वप्रथम कार्यालय आउने दुई जना सेवाग्राहीलाई अबिर र खादासहित कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

त्यसैगरी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायतका हुलाकका कर्मचारीहरूले जिल्ला हुलाक कार्यालयको परिसरमा आँप, लिची, अम्बा, जामुनका साथै विभिन्न प्रकारका फूलका विरुवा रोपेका थिए ।

जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, विशेष अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिले जिल्ला हुलाक कार्यालय बाँके र मातहतका कार्यालयमा रहेर उत्कृष्ट काम गर्ने खरिदार कमलेशकुमार मौर्य, हल्कारा मन बस्नेत, हुलाकी महेशकुमार यादव, बनकटवाका हुलाक प्रतिनिधि इन्द्रा आचार्य, कम्दीका पत्रवितरक विष्णुप्रसाद कुर्मी तथा नौबस्ताका पत्रवितरकलाई माला खादासहित सम्मानपत्र प्रदान गरेका थिए ।

जिल्ला हुलाक कार्यालय बाँकेका नायब सुब्बा जंगवीर सुनारले सञ्चालन गरेको कार्यक्रममा नायब सुब्बा शान्ता शाही सिंहले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा जिल्ला हुलाक कार्यालय बाँके, इलाका हुलाक कार्यालय तथा अतिरिक्त हुलाक कार्यालयका कर्मचारी तथा सेवाग्राहीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज २३, २०८०     10:02:50 AM  |