एमाले बाँकेको तीनदिने स्कुलको समापन



नेपालगन्ज ।

नेकपा(एमाले) बाँके जिल्ला स्कुल विभागको आयोजनामा सञ्चालित तीनदिने स्कुल आइतबार सम्पन्न भएको छ ।

समापनको अन्तिम दिन स्कुलमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका मूल रणनीति तथा कार्यक्रमअनुसाका मिसन सफल बनाउने अभियानअन्तर्गत यो पनि एक अभियान भएको बताए ।

उनले मिसन ८४ मा एमाले पार्टी कमिटीको जति भूमिका रहनेछ त्योभन्दा बढी भूमिका जनवर्गीय संगठनले निर्वाह गर्नुपर्ने उल्लेख गरे । यसका साथै उनले जनवर्गीय संगठन सञ्चालनका नीति निर्देशन तथा व्यावहारिक पक्षमा प्रस्तुति दिएका थिए ।

एमाले पार्टी स्कुलमा बाँके जिल्लाका आठवटै पालिकाका पदाधिकारीको सहभागिता रहेको थियो । यही १९ गतेदेखि सञ्चालन भएको सो पार्टी स्कुलको उद्घाटन एमालेका केन्द्रीय स्कुल विभागका प्रमुख तथा केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले गरेका थिए । उद्घाटन गर्दै उनले बाँके जिल्लाले सुरुवात गरेको स्कुल हालसम्म लुम्बिनी प्रदेशमा पहिलो भएको भन्दै यो अभियान निरन्तर सञ्चालन गर्नुपर्ने बताए ।

नेता ज्ञवालीले माक्र्सवादी दर्शन र जनताको बहुदलीय जनवादका विषयमा प्रस्तुति दिएका थिए । पार्टी स्कुलमा एमाले पोलिटब्युरो सदस्य, खेममान खड्का, लुम्बिनी प्रदेश स्कुलका संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय सदस्यहरू, सूर्य ढकाल, केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, स्कुल विभाग प्रमुख एवम् उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्रीलगायतको प्रस्तुति रहेको थियो । हरेक दिनको स्कुलको मूल्यांकन केन्द्रीय सदस्य हारुन हलुवाई, शान्ति ढकाल र केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले गरेका थिए ।

तीन दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको पार्टी स्कुलमा जिल्ला तहमा बाँके जिल्ला पहिलो भएको विभागीय प्रमुख बिसीले बताए । पार्टीका दर्शन, नीति, कार्यक्रम, अभियान र राजकीय शासन सञ्चालनका विषयमा यसरी गहन रूपमा स्कुल सञ्चालन हुने नेकपा(एमाले) एक मात्र पार्टी भएको उनले दाबी गरे ।

स्कुलमा जनताको बहुदलीय जनवाद(जबज) जनसंगठन सञ्चालन, परिचालन र कार्यक्रम, महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रम, कार्यदिशा, समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा, आर्थिक व्यवस्था र प्रणाली, लेलिनवादी संगठनात्मक सिद्धान्त (जनवाद र केन्द्रीयता), सूचना प्रविधि, सञ्चारको प्रयोग र उपयोग, विधान र यसका प्रावधानका विषयमा स्कुल सञ्चालन भएको थियो । स्कुलमा हरेक विषयको प्रस्तुति र त्यसै प्रस्तुतिमा अन्तरक्रियासमेत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार