शिवानी विक । कोहलपुर ।
ज्ञान, शील, एकता, भन्ने मूल नारा बोकेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोहलपुर एकाइ समितिले एक दिवसीय नगर अभ्यास कार्यक्रम आइतबार सम्पन्न गरेको छ । विद्यार्थी हक हितको संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यले आइतबार बागेश्वरी बहुमुखी क्याम्पसमा सो कार्यक्रम सञ्चालन गरिएको परिषद्ले जनाएको छ ।
उक्त अवसरमा बोल्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव रमेश कँडेलले विद्यार्थीहरू आफ्नो विषयमा जागृत हुनु आवश्यक भएको बताए । विद्यार्थी सचेत भए आमनागरिकलाई परिवर्तन गर्न सक्ने बताउँदै उनले विद्यार्थीको हकहितका लागि जिम्मेवारी वहन गरी अगाडि बढ्न सुझाव दिए ।
उनले विद्यार्थीमा राष्ट्रिय भावना, सकारात्मक सोच, समाजमा भएका हरेक घटनाको चिन्तन हुनु आवश्यक भएको बताए । सचिव कँडेलले संगठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र बनाई शिक्षाको गुणस्तर वृद्धि गर्नु रहेको बताइएको छ । हाल यस संगठनले विभिन्न क्याम्पसमा एकाइ गठन गरी विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद्ले हाल देशका ७७ वटै जिल्लामा आफ्नो सांगठनिक कार्य अगाडि बढाउँदै आएको उनले बताए । परिषद् संघीय संरचनामा अघि बढ्दै सातवटै प्रदेशमा अधिवेशन गर्ने पहिलो संगठनका रूपमा रहेको उनको दाबी छ । परिषद्ले सरसफाइ, व्यक्तित्व विकास, कम्प्युटर प्रशिक्षण, सडक नाटक, रक्तदान, शैक्षिक गोष्ठी तथा विभिन्न जनचेतनामूलक कार्य नियमित गर्दै आएको उनले बताए ।
सो अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका कोहलपुर नगर अध्यक्ष एकराज शर्माले विद्यार्थीले औपचारिक ज्ञानको वृद्धि गर्न अनौपचारिक ज्ञान आवश्यक पर्ने बताए । विद्यार्थीमा ज्ञान, सीप, आचरण आवश्यक भएको बताउँदै उनले ज्ञान प्राप्तिका लागि मात्र शिर झुकाउनुपर्ने बताए । एक भएर लागिपर्ने हो भने असहज परिस्थितिलाई पनि सहज बनाउन सकिने उनको भनाइ छ ।
कार्यक्रमबाट नगरस्तरीय कार्यसमिति चयन गरिएको छ । नगर अध्यक्षमा एकराज शर्मा, नगर उपाध्यक्षमा कल्पना खत्री, सचिवमा अप्सरा रावल, सह–सचिवमा भेषराज धमला, नगर छात्रा प्रमुखमा अपेक्षा बाठा, नगर कोषाध्यक्षमा कमल खत्री, नगर पत्रिका संयोजक शिवानी विक, सदस्यहरूमा कमला खनाल, दुर्गाप्रसाद चौधरी, ऐश्वर्य विश्वकर्मा, स्वस्तिका बस्नेत, मुस्कान बम, मीना खनाल, हरि भुसाल र जीवन वली चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्