नेपालगन्ज र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना



नेपालगन्ज ।

चाडपर्वका समयमा यात्रु ठगिनबाट जोगाउन नेपालगन्ज र कोहलपुर बसपार्कमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । नेपालगन्ज र कोहलपुर बसपार्कमा आइतबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

सहायता कक्षको उद्घाटनमा ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, गलत क्रियाकलाप तथा प्रतिक्रियाहरू हुन नदिनका लागि सहायता कक्ष बनाइएको जानकारी दिए ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख एवं प्रहरी निरीक्षक हरिबहादुर बुढाक्षेत्रीले अहिलेको अवस्था तथा आउँदै गरेको चाडपर्वमा बसपार्क क्षेत्रमा हुन सक्ने सम्भावित जोखिम नियन्त्रणका लागि सहायता कक्ष प्रभावकारी हुने दाबी गरे ।

यात्रुहरूलाई तानातान गर्ने, बसपार्कमा बसमा चढाउने र अगाडि लगेर लामो दूरीको सवारी भेटिएपछि छोटो दूरीका सवारीसँग नराम्रो व्यवहार गर्ने, बसपार्कभित्र अन्य अनैतिक गतिविधि गर्नेलाई कारबाही गर्न र यात्रुलाई सुरक्षा प्रदान गर्न तत्पर रहने समेत उनले उल्लेख गरे ।

अस्थायी प्रहरी पोष्ट नेपालगन्ज बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक भरत वलीका अनुसार अबदेखि सहायता कक्षमा दुई जना प्रहरीको नियमित उपस्थिति रहने छ ।

प्रहरीले यस क्षेत्रमा हुने गलत कार्य नियन्त्रणमा यात्रुलाई सहयोग पु¥याउने कार्य हुनेछ । उद्घाटनमा जनप्रतिनिधि, यातायात व्यवसायी र चालकहरूको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार