10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

नेपालगन्जमा कर्फ्युको समय घटाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २१, २०८०  

बाँके ।

नेपालगन्जमा कर्फ्युको समय कम गर्दै लगिएको छ । दुई समुदायबीच तनाव उत्पन्न भएपछि गएको मंगलबार दिउँसो १ बजेदेखि त्यहाँ अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।

त्यसयता क्रमशः कर्फ्युको समय घटाइएको छ । अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु खुकुलो गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । शनिबार बेलुका ८ बजेदेखि जारी गरिएको कर्फ्यु आदेश आइतबार बिहान ४ बजेदेखि हटाइएको छ । आइतबार दिनभरका लागि कर्फ्यु हटाइएको हो ।

आइतबार राति १० देखि सोमबार बिहान ४ बजेसम्मका लागि पुनः कर्फ्यु आदेश जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कर्फ्यु आदेश जारी गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्र (पूर्वमा मिलनचोक, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा कारकाँदोचोक र दक्षिणमा जमुनाहा सीमानाका)भित्र कर्फ्यु आदेश लागु हुनेछ ।

यस्तै, आइतबार बिहान १० देखि राति १० बजेसम्म नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न पाइँदैन । सो क्षेत्रमा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न समेत पाइँदैन । हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुन समेत नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

940x380-21-1696737858.jpg

प्रकाशित मितिः आइतवार, अशोज २१, २०८०     9:52:45 AM  |