गैंडा मृत फेला, केटोको खोजी कार्य जारी



बाँके ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा गैंडाको बच्चा (केटो) हराएपछि खोजी सुरु गरिएको छ । शनिबारदेखि हात्तीसहित सुरक्षाकर्मीले संगठित रूपमा खोजी सुरु गरेका हुन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार बाहिर बच्चासँगै निस्केको पोथी गैंडा मृत अवस्थामा फेला परेको सहायक संरक्षण अधिकृत बद्रिविनोद दाहालले जानकारी दिए ।

पोथी गैंडाको केटा सँगसँगै गए पनि उसको अवस्था अज्ञात रहेको उनले बताए । निकुञ्जले गैंडाको केटा खोज्न शुक्रबार बिहानदेखि नै थाले पनि भेटिएको छैन । शनिबारदेखि चार वटा हात्ती, नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालित भएका छन् । पोथी गैंडा निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकाको बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी मृत अवस्थामा फेला परेको थियो ।

‘पोथी गैंडा प्राकृतिक कारणले मारिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ सहायक संरक्षण अधिकृत दाहालले भने, ‘खागलगायत अंग सुरक्षित छ । यस क्षेत्रमा निकुञ्ज कर्मचारी र नेपाली सेनाले केटालाई खोज्ने काम गरिरहेका छन् ।’

माउ गैंडा मृत भेटिएको ठाउँ निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारि पर्छ । माउ गैंडा करिब १९/२० वर्ष उमेरको थियो । निकुञ्ज मुख्यालयबाट पर र अप्ठ्यारो ठाउँ भएकाले राति चिकित्सक टोली त्यहाँ पुग्न सकेको थिएन ।

बर्दिया निकुञ्जबाट चिकित्सकसहित सुरक्षा टोली घटनास्थलमा शनिबार बिहान पुगेर गैंडाको पोष्टमार्टम गरेका थिए । घटनास्थल हेर्दा माउको मृत्यु भएपछि केटा निकैबेर त्यहीँ रहेको संकेत देखिएको छ । निकुञ्ज प्रशासनका अनुसार माउ अचानक ढलेपछि बच्चा सँगै रहेको फोटो ट्रयापिङ क्यामरामा परेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २१ गते आइतबार