नेपालगन्ज ।
नेकपा (एमाले) बाँकेले शुक्रबारदेखि पार्टीको आन्तरिक आधारभूत तहको तीनदिने स्कुल सञ्चालन गरेको छ । पार्टीका उपमहासचिव तथा विभागका प्रमुख प्रदीप ज्ञवालीले स्कुलको उद्घाटन गरेका थिए ।
स्कुल उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले राजनीतिक दलका कार्यकर्तामा अध्यनशिलता अभाव देखिएको बताए । पार्टीले विचारको सही विश्लेषण गर्न सक्ने नेता कार्यकर्ता उत्पन्न गर्ने गरी देशभर स्कुल सञ्चालन गर्ने नीति बनाएको ज्ञवालीको भनाइ छ ।
‘जति अध्ययन ग¥यो त्यति राम्रो ! जोकोहीले पढ्नैपर्छ । कम्तिमा एमालेका नेता कार्यकर्ता अध्ययनशील हुनुपर्छ,’ ज्ञवालीले भने । एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिले लुम्बिनीमै पहिलोपटक बाँकेमा स्कुल सञ्चालन गरिएको बताए । प्रोजेक्टर, ल्यापटपजस्ता सुविधासम्पन्न साधनस्रोतको उपयोग गरी सबै तह र तप्काका नेता कार्यकर्तालाई स्कुलमा सहभागी गराउने उनले जानकारी दिए ।
एमाले बाँके स्कुल विभागका प्रमुख एवं पार्टी उपाध्यक्ष डिल्ली बिसीका अनुसार तीन दिन चल्ने स्कुलमा पालिका कमिटी पदाधिकारीहरूको सहभागिता रहेको छ ।
स्कुल अवधिमा उपमहासचिव प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवाद, भानुभक्त ढकाले जनसंगठन परिचालन र कार्यक्रम, लक्ष्मण ज्ञवालीले महाधिवेशनबाट पारित दस्तावेज, सूर्य ढकालले समृद्ध नेपाल, सुखी नेपालको अवधारणासहित अन्य नेताहरूले विभिन्न विषयमा प्रशिक्षण दिनेछन् ।
एमालेले आधारभूत तहमा वैचारिक प्रशिक्षणका लागि पाठ्यसामग्री तयार गरेको छ । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)का क्रममा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षणको आवश्यकता महसुस गरी पार्टीको गत वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले उच्च, मध्यम र आधारभूत तहको प्रशिक्षण चलाउने र त्यसका लागि स्कुल विभागले पाठ्यक्रम बनाउने निर्णय गरेको थियो । स्कुल विभागले गत वर्षदेखि नै स्कुल (प्रशिक्षण) सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्