सोमबारदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला



बाँके ।

दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुला हुने भएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरूको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भए पनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरू निर्णय भइनसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

‘शुक्रबार बसेको पहिलो बैठकले अग्रिम टिकट बुकिङ खुलाको निर्णय गरेको छ । थप यातायात व्यवस्थालाई सहज र व्यवस्थित बनाउने सन्दर्भमा पुनः सरोकारवाला निकायहरूसँग अहिले बैठक बस्दै छौं,’ उनले भने, ‘सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुला गर्ने विषयमा थप गृहकार्य हुँदै छ ।’

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक उद्धव रिजालले टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने बताएका छन् । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गरिने उनले बताए ।

दसैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिबार