गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार



सुर्खेत ।

सुत्केरी व्यथा लागेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

व्यथा लागेकी गर्भवती महिलाको गर्भमा रहेको शिशु उल्टो रहेको पाइएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा ल्याइएको हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले व्यथा लागेर उद्धार गरिएकी महिला अदानचुली गाउँपालिका–४ की २४ वर्षीया राजकला ढकाल रहेको जानकारी दिए ।

सुत्केरी व्यथा लागेकी ढकाललाई असोज १६ गते श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भएको कारण जिल्ला बाहिर गाउँपालिका, स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको हो ।

बुधबार बेलुका उद्धारका लागि सिफारिस गरिएको भए पनि ढिलो भएका कारण बिहीबार बिहानै उद्धार गरिएको थियो । हेलिकोप्टरबाट उद्धार गरिएकी महिलाको हवाई भाडा भने राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट बेहोरिनेछ ।

हुम्लामा मात्र गत वर्ष ११ जना गर्भवती महिनाको हवाई उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रबार