संयमित भएर सूचना प्रवाह गर्न आग्रह



नेपालगन्ज ।

नेपाल पत्रकार महासंघ, बाँके शाखाले नेपालगन्जमा सद्भाव र आपसी एकता कायम गर्न अपिल गरेको छ । बहुसांस्कृतिक एवं बहुधार्मिक विविधता नेपालगन्जको विशेषता भएको उल्लेख गर्दै महासंघले जनस्तरकै पहलबाट अनेकतामा पनि एकता कायम भएको र यहाँको सद्भाव, आपसी भाइचारा अरूका लागि पनि उदाहरण बनेको उल्लेख गरेको छ ।

तर पछिल्लोपटक उत्पन्न संवेदनशील परिस्थितिले नेपालगन्जका हरेक नागरिकमा संशय पैदा भएको र मनमा चोट पुगेको बताउँदै महासंघले मनका चोटमा मल्हम लगाई नेपालगन्जलाई पुरानै अवस्थामा फर्काउने दायित्व र जिम्मेवारी फेरि पनि अरू कसैको नभई स्वयम् नेपालगन्जबासीकै भएको जनाएको छ । यसर्थ महासंघले सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, सम्प्रदायमा आपसी एकताका लागि अग्रसर हुन हार्दिक अपिल गरेको सचिव कमल डाँगीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

नेपालगन्जमा उत्पन्न संवेदनशिल परिस्थितिका बीच पनि यहाँका सञ्चारकर्मीहरूले आमनागरिकलाई सुसूचित गराउने कार्य गरिरहेको महासंघले जनाएको छ । संकटको समयमा सिर्जना हुने भ्रम झनै खतरा हुने भएकाले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्यतथ्य सूचना संकलन गरी प्रकाशन÷प्रसारण गर्नु पत्रकारको कर्तव्य भएको र हतारो नगरी आधिकारिक निकायबाट अधिकारिक व्यक्तिले दिएको सूचनालाई मात्र प्राथामिकता दिई समाचार सम्प्रेषण गर्न आह्वान गरिएको छ ।

पत्रकार आचारसंहितामा उल्लेख भएको, ‘विभिन्न जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’ भन्ने विषयलाई ध्यान दिन अनुरोध गर्दै महासंघले आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै आफूले प्रयोग गर्ने सवारीसाधनमा अस्थायीरूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँस्न र देखिने गरी आफ्नो परिचयपत्र लगाउन, यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाउन अनुरोध गरेको छ ।

नेपालगन्जमा सिर्जना भएको तनाव फेरि हुन नदिन यस्ता घटनाको कारण खोजी गरी आमनागरिकसमक्ष सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र राज्यका निकायलाई जवाफदेही बनाउने दायित्व र जिम्मेवारी सञ्चारक्षेत्रको भएको उल्लेख गर्दै यसरी आचारसंहिताभित्र रही सत्यतथ्य समाचार सम्प्रेषण गर्ने क्रममा कहीँकतैबाट कुनै पनि बहानामा अवरोध उत्पन्न भए नेपाल पत्रकार महासंघ बाँकेमा तत्काल जानकारी दिन सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ ।

महासंघले पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहो¥याउँदै नागरिकको सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई स्वतन्त्र र निर्भिकताका साथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार