बाँसगढीको लक्ष्मणपुरमा खुला फुटबल प्रतियोगिता हुँदै



मधुर पौडेल । बाँसगढी ।

तेस्रो लक्षमणपुर खुला फुटबल प्रतियोगिता २०८० को आयोजना हुने भएको छ । बाँसगढीको लक्षमणपुरमा रहेको बेलटारी युवा क्लबले असोज २६ गतेदेखि ४ गतेसम्म सञ्चालन हुनेगरी प्रतियोगिता आयोजना गरेको हो ।

सो प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष चित्रबहादुर खत्रीले खेल प्रतिभाको खोजी तथा खेलकुद क्षेत्रमार्फत लक्ष्मणपुर गाउँको पहिचान गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको जनाए ।

विगतका वर्षहरूझैँ यसवर्ष पनि फुटबल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष खत्रीले बताए । प्रतियोगितालाई भव्य रूपमा सफल पार्न मुख्य प्रायोजक, सहप्रायोजक र प्रायोजकहरू खोज्ने काम भइरहेको र इच्छुक संघसंस्था तथा व्यवसायीहरूले सम्पर्क राख्न अध्यक्ष खत्रीले अनुरोध गरे ।

प्रतियोगिताको विजेता समूहलाई ५१ हजार र उपविजेता समूहलाई २६ हजार पुरस्कार राशि राखिएको छ भने प्रतियोगितामा सहभागिता जनाउन समूह दर्ता शुल्क ४ हजार १ सय रुपैयाँ राखिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको र विजेता समूहलाई मेडल, प्रमाणपत्रका साथमा थारू हस्तकलाका सामग्रीसमेत प्रदान गरिने योजना बनाएको क्लबका सल्लाहकार दीपक अधिकारीले बताए । प्रतियोगिताले लक्ष्मणपुर नमुना गाउँ, लक्ष्मणपुर होमस्टे, लक्ष्मणपुर पिक्निक स्पटलगायतको प्रचारप्रसारमा थप टेवा पुग्ने क्लबका पूर्वअध्यक्ष तथा नेरा मावि लक्ष्मणपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपाल खड्काले बताए ।

लक्ष्मणपुर गाउँले ४ जना राष्ट्रिय स्तरका खेलाडीसमेत उत्पादन गरिसकेको छ । क्लबका अध्यक्ष चित्रबहादुर खत्रीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बाँसगढी नगरपालिकाका संस्थापक नगर प्रमुख शालिकराम अधिकारी, बाँसगढी ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला, बाँसगढी उद्योग वाणिज्य संघका लेखा समिति संयोजक दिलु पौडेल, लक्ष्मणपुर गाउँबासी, खेलाडीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार