20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

वडाध्यक्ष ओलीद्वारा जन्मदिनका अवसरमा विद्यार्थीलाई पोसाक वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १८, २०८०  

बाँके ।

राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनको अवसरमा बालबालिकाहरूलाई पोसाक वितरण गरेका छन् । बुधबार राप्तीसोनारी–२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरूलाई पोसाक वितरण गरेका हुन् ।

लामो समयदेखि सामाजिक क्षेत्रमा रहेर काम गर्दै आएका वडाध्यक्ष ओलीले जन्मदिनको अवसर पारेर ४० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक दिएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर विष्टले जानकारी दिए ।

विद्यालय पोसाक किन्नसमेत गाह्रो पर्ने अभिभावक भएकाले सहयोग गरेकोमा ओलीलाई जन्मदिनको शुभकामना तथा धन्यवाद दिँदै प्रधानाध्यापक विष्टले यस्ता अवसरहरूमा अन्य व्यक्तिहरूले समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।

विद्यालयमा रहेका विपन्न, टुहुरा तथा असहाय बालबालिकालाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले पोसाक उपलब्ध गराएको वडाध्यक्ष ओलीले बताए ।

‘जन्मदिनको अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विद्यार्थीहरूलाई पोसाक सहयोग गरेको हुँ,’ उनले भने, ‘आफ्नो जन्मदिनमा अरू कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ । मैले पनि त्यही गरेको हुँ ।’

यसअघि समेत वडाध्यक्ष ओलीले आफ्नो व्यक्तिगत खर्चमा खेलकुद मैदान, मन्दिरलगायतका संरचना निर्माण गरिसकेका छन् । सधैँ उनले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाउने गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, अशोज १८, २०८०     9:14:16 AM  |