मधुर पौडेल । बाँसगढी ।
बाँसगढीमा ३३औँ ज्येष्ठ नागरिक दिवस मनाइएको छ । ‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरू पूरा गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी सो दिवस मनाइएको हो ।
बाँसगढी नगरपालिकाको आयोजना र बाँसगढी सामुदायिक पुस्तकालयको समन्वयमा आयोजित कार्यक्रममा नगरभित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्काले ज्येष्ठ नागरिकबाट युवाहरूले सल्लाह, सुझाव र मार्गनिर्देशन लिनुपर्ने बताए । उनले ज्येष्ठ नागरिकहरूको सेवासुविधाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, ज्येष्ठ नागरिक, पत्रकार, नागरिक समाजका अगुवालगायतको सहभागिता रहेको थियो ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो ।
यस्तै ज्येष्ठ नागरिकलाई सार्वजनिक ठाउँमा सेवा लिँदा लाइन बस्नु नपर्ने र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधिउपचारमा सहुलियत दिने व्यवस्था छ । तर ज्येष्ठ नागरिकले कतिपय सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्