शिवानी विक । कोहलपुर ।
ज्येष्ठ नागरिकमैत्री कार्यालय स्थापना गर्न कोहलपुरका ज्येष्ठ नागरिकहरूले सरोकारवालासँग माग गरेका छन् ।
ज्येष्ठ नागरिकका लागि गुणस्तरीय जीवनयापनको व्यवस्था गर्न उनीहरूले जोड दिए । कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बोल्ने ज्येष्ठ नागरिकले हरेक कार्यालयहरूमा ज्येष्ठ नागरिकमैत्री व्यवस्थापन हुनुपर्ने बताए ।
कोहलपुर–१२ चप्परगौढीका टीकाराम खनालले स्वास्थ्य बिमा लागू हुँदा पनि आफूहरूले सेवा लिन नपाएको दुखेको पोख्दै स्वास्थ्यजस्तो संवेदनशील ठाउँमा ज्येष्ठ नागरिकले पाउनुपर्ने हक अधिकारको आफूले प्रयोग गर्न नपाएको दुखेसो पोखे । सोही वडाका गोविन्दप्रसाद ढकालले ज्येष्ठ नागरिक दिवस एक दिन मनाएर मात्र नहुने भन्दै ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा सुविधा सहजै उपलब्ध हुनुपर्ने बताए ।
यात्रा गर्दा, बैंकिङ कारोबार, उपचार गर्दा, जुनसुकै कार्यमा पालो नकुर्दासम्म सेवा नपाएको उनको गुनासो थियो । कार्यालयमा सेवा लिन जाँदा ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिइने कुरा भित्तामा टाँसिएको कागजमा मात्र सीमित भएको उनले बताए ।
कोहलपुर–१४ की भगवती खत्रीले प्रत्येक वडामा बैंकको व्यवस्था गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइदिन स्थानीय सरकारसँग आग्रह गरिन् । उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले ज्येष्ठ नागरिकको जिज्ञासा मेटाउँदै ज्येष्ठ नागरिकमैत्री वातावरण र अधिकार रक्षाका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन् ।
स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, यातायातलगायतका सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा व्यवस्था गरेको छुट सहुलियत र सेवासुविधाको थप विस्तार गरिने र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने प्रतिबद्धता जनाइन् ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकले ज्येष्ठ नागरिकको स्वास्थ्य र लालनपालनका लागि स्थानीय सरकारले ऐक्यबद्धरूपमा काम गरिरहेको बताए । हरेक स्थानमा ज्येष्ठ नागरिकहरूको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
उक्त अवसरमा बोल्दै उद्योग वाणिज्य संघ कोहलपुरका उपाध्यक्ष चण्डीप्रसाद गैरेले स्थानीय सरकारले अस्पतालमा काटिने १ सय रुपैयाँको बिल छुट गरिदिन आग्रह गरे । त्यसका लागि उद्योग वाणिज्य संघबाट आवश्यक परे समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको उनले बताए । कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ वटै वडाबाट ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्