बाँके निकुञ्जमा आजबाट टाइम कार्ड लागू



बाँके ।

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको राजमार्ग क्षेत्रमा आज (सोमबार) देखि टाइम कार्ड लागू हुने भएको छ । राजमार्गमा दुर्घटनाका साथै सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने दर बढेपछि टाइम कार्ड लागू गर्न लागिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जको मुख्यालय ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागू हुने बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले जानकारी दिए । करिब १५ किलोमिटर दूरी पार गर्न २३ देखि २८ मिनेटको समय दिइने उनले बताए ।

आज बिहान ८ बजेदेखि टाइम कार्ड प्रणाली लागू गर्ने तयारी भएको छ । एक औपचारिक कार्यक्रम गरेर राजमार्गको निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागू गरिने सूचना अधिकारी भुसालले जानकारी दिए ।

त्यस्तै, निकुञ्ज क्षेत्रमा हुने सवारी दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने, बिग्रेको सवारी साधन मर्मतका लागि एक घन्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न पनि लागिएको छ ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार