बाँसगढीमा बृहत् सरसफाइ अभियान



मधुर पौडेल । बाँसगढी (बर्दिया) ।

बर्दियाको बाँसगढी नगरपालिकामा ‘क्लिन बाँसगढी, ग्रिन बाँसगढी’ भन्ने नाराका साथ बृहत् सरसफाइ अभियानको सुरुवात गरिएको छ ।

बाँसगढी बजारको किसान चोकबाट शनिबार बृहत सरसफाइ अभियानको सुरुवात गरिएको हो । बाँसगढी नगरपालिकासहित स्थानीय विभिन्न संघ संस्थाहरूको आयोजनामा बृहत् सरसफाइ अभियान सुरु गरिएको थियो ।

बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले नगरलाई स्वच्छ हराभरा बनाउन र हरित सहर बनाउने कार्यमा हातेमालो गर्न सबैलाई आग्रह गरे ।

फोहोर व्यवस्थापन नागरिकहरूको पनि कर्तव्य भएको बताउँदै यसमा सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । ‘नगरपालिका पूर्ण सरसफाइमुक्त नभएसम्म अभियानलाई जारी राख्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार छ ।’

बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालले नजिकिएका चाडपर्वलाई मध्यनजर गर्दै नगरभित्रका सबै बजारहरू सरसफाइ गर्नुपर्ने भएकाले अभियान नै थालिएको बताए । उनले प्रत्येक दिन आफ्नो घरअगाडि आफैंले सफा राख्नुपर्नेमा जोड दिए । सबै जनाले घरबाटै साथ दिए अभियानले सार्थकता पाउने अध्यक्ष बरालले दाबी गरे ।

सरसफाइ अभियानमा सहभागीहरूले फोहोरलाई वर्गीकरण गरी अलगअलग व्यवस्थापन गर्न नगरबासीलाई अनुरोध गरेका थिए ।

अभियानलाई बाँसगढी नगरपालिका, बाँसगढी उद्योग वाणिज्य संघ, महिला जागरण सामाजिक शिक्षा, नगरस्तरीय महिला सञ्जाल, इलाका प्रशासन कार्यालय बाँसगढी, इलाका प्रहरी कार्यालय मोतीपुर, नेपाल रेडक्रश उप–शाखा बाँसगढी, युवा सन्जाल बाँसगढीलगायतका संघसंस्थाहरूले साथ दिएका थिए ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार