नेपालगन्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले गरेका नराम्रो कामको गणना गरिसाध्य नभएको बताएका छन् । सरकारका नराम्रो कामको सूची लामो रहेको भन्दै जनस्तरबाट भण्डारफोर गर्न आवश्यक रहेको औंल्याएका छन् ।
शनिबार रास्वपाको नेपालगन्ज नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले दिनदहाडै मान्छे मार्नेलाई छोड़ने काम सरकारले गरेको भन्दै तीव्र आलोचना गरे ।
सभापति लामिछानेले भने, ‘यो सरकारले बिहान एउटा, दिउँसो एउटा र बेलुका एउटा अलोकप्रिय र नराम्रो काम गर्छ । हामीलाई सरकारको विरोध गरेनन् भन्छन् । छिनछिनमा नराम्रो काम गर्ने सरकारको कति विरोध गर्नु ? यो सरकारको विरोध गर्ने हो भने त सधैं माइतीघरमा बस्नुपर्छ ।’
यही असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । सरकारले भुटानी शरणार्थी काण्ड, सुनकाण्डमा अनुसन्धान गर्ने प्रहरी अधिकृत र न्यायाधीशसमेतको सरुवा गरेको विषयलाई जोड्दै लामिछानेले यो सरकारसँग जनताले केही आशा गर्नु बेकार भएको टिप्पणी गरे । उनले भने, ‘यो सरकारलाई मत हाल्ने जनताले पनि भएका गलत कामको भागीदारी लिनुपर्छ ।’
सरकारलाई जनताको मतलब नभएको र राज्यको ढुकुटीमा लुट मच्याइरहेको बताउँदै लामिछानेले सरकारले सर्वहाराको नाममा चन्दादाताका लागि नीति बनाउने गरेको बताए । उनले आफ्नो पार्टी विधि र प्रक्रियामा चल्ने बताउँदै आफूहरूले भ्रष्टलाई पाल्ने नभई फाल्ने नीति अवलम्बन गरेको बताए ।
यस्तै शनिबार सम्पन्न नगर भेलाबाट सभापतिमा गुप्तबहादुर खड्का (नवीन) सर्वसम्मत चयन भएका छन् । खड्काको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन भएको बाँके क्षेत्र नं. २ का सभापति विवेककुमार श्रेष्ठले जानकारी दिए ।
उप–सभापतिमा अर्चना पोखरेल, सचिवमा घनश्याम भट्ट, कोषाध्यक्षमा बुद्धिसागर सुवेदी तथा सदस्यहरूमा कृष्णप्रसाद मरासिनी, हरिलाल उपाध्याय, असलम अलि कबडिया, नरेन्द्र श्रेष्ठ, स्नेहा प्रसाईं, निभाकुमारी सोनी र बिनिता आचार्य चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्