नेपालगन्ज ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेर फरार रहेका एक जना बालबन्दी समातिएका छन् । गत असोज ४ गते राति १० बजे बाल सुधार गृहमा रहेका बालबन्दीका बीच आपसमा झडप हुँदा भागेर फरार रहेका चार जनामध्ये एक जना बालबन्दी दैलेखबाट समातिएका हुन् ।
बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार बाँकेबाट खटिएको प्रहरी टोली र दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई पक्राउ गरेको हो ।
दैलेखको महाबु गाउँपालिकाका स्थानीय उनलाई घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी डाँगीले जानकारी दिए । बिहीबार दैलेखमा पक्राउ परेका उनलाई नेपालगन्ज ल्याइसकिएको छ ।
बाल सुधार गृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न टोली परिचालन गरिएको डिएसपी डाँगीले जानकारी दिए । २ सय ५४ जना बालबन्दी रहेको सुधार गृहमा यसपालिको झडपमा एक जना बालबन्दीको मृत्यु भएको थियो भने १० जना बढी घाइते भएका थिए ।
बाल सुधार गृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अलग राखिएको छ । उनीहरूलाई विभिन्न प्रहरी कार्यालयका एकाइहरूमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्