दसैँका लागि अग्रिम टिकट खोल्ने तयारी



काठमाडौँ ।

सरकारले यो वर्षको दसैँका लागि १८ गतेदेखि अग्रिम टिकट खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले असोज १८ गते वा २० गतेदेखि अग्रिम टिकट खुला गर्ने बताए ।

उनका अनुसार अब पुनः छिट्टै यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतसँग सामूहिक बैठक बस्ने तयारी भइरहेको छ । उक्त बैठकले टिकट खुलाउनेबारे निर्णय गर्नेछ ।

यसअघि असोज ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा बैठक बसी कमिटी गठन भएको थियो । ‘अब हामी छिट्टै बैठक बस्दै छौँ । सम्भवतः असोज १८ अथवा २० गतेदेखि दसैँको अग्रिम टिकट खुल्छ,’ उनले भने । यो वर्षको घटस्थापना असोज २८ गते परेको छ । कात्तिक ४ गते फूलपाती परेको छ भने कात्तिक ७ गते दसैँको टीका परेको छ ।

यता यातायात व्यवसायीहरूले भने अग्रिम टिकट खोल्नुभन्दा अगाडि आफूहरूका विभिन्न माग पूरा हुनुपर्ने अडान राखेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मागहरू सरकारले पूरा गर्नुपर्ने र त्यसपछि मात्रै दसैँको अग्रिम टिकट खोल्नुपर्ने दाबी गरे ।

‘असोज ५ गते नै यातायातमन्त्रीको संयोजकत्वमा कमिटी बनेको थियो । त्यो कमिटीले ती मागबारे हेर्ने, बाटोघाटोको अवस्था अध्ययन गर्ने र त्यसको एक हप्तापछि पुनः बैठक बस्ने भन्ने कुरा भएको थियो तर सरकारले यसलाई वास्ता गरेन, अहिलेसम्म बैठकबारे मौन छ,’ उनले भने ।

उनका अनुसार गत चैत महिनामा नै भाडा समायोजन हुनुपर्ने थियो तर यसबारे सरकारले अहिलेसम्म केही निर्णय नगरेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार