कोहलपुर ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले कोहलपुर टाइम्स अनलाइनका कार्यकारी सम्पादक प्रमोद रिजालमाथि धम्की दिइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएकोे छ ।
महासंघ बाँके शाखाले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै पत्रकार रिजालमाथि भएको दुव्र्यवहारको निन्दा गरेको छ । पत्रकार रिजाललाई बुधबार कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले अश्लील भाषा प्रयोग गर्दै धम्की दिएका थिए ।
अनलाइनमा प्र्रकाशित समाचारको विषयलाई लिएर ठकुरीले फोनमा पत्रकार रिजाललाई धम्क्याएका थिए । पत्रकार रिजालका अनुसार ठकुरीले फोनमा अश्लील गाली गर्दै ‘मलाई चिनेको छैनस्, तँलाई देखाउँछु’ भन्दै धम्क्याएका थिए ।
महासंघ बाँके शाखाका सचिव कमल डाँगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार चित्त नबुझे कानुनी खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने कानुनी प्रावधान हुँदाहुँदै अमर्यादित भाषा प्रयोग गर्दै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको जनाइएको छ ।
समाचार चित्त नबुझे कानुनी प्रक्रियामा जान आग्रह गर्दै महासंघले यस्ता प्रेस स्वतन्त्रताविरोधी गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेतसमेत गराएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पनि महासंघले माग गरेको छ ।
त्यसैगरी, नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर बाँके शाखाले पनि विज्ञप्ति प्रकाशित गरी सो घटनाको विरोध जनाएका छन् ।
पत्रकारलाई अपशब्द प्रयोग गरी धम्क्याउने कार्य अशोभनीय तथा निन्दनीय भएको भन्दै पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग विज्ञप्तिमा आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्