काठमाडौं ।
दसैँमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ क्यूआरमार्फत नयाँ नोट साट्न पाउने व्यवस्था गर्ने भएको हो । नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले जानकारी दिए ।
नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर राष्ट्र बैंकबाट नयाँ नोट लिन सक्ने उनले बताए । ‘यो वर्षको दसैँमा नयाँ नोट साट्न आउनेहरूलाई क्यूआरमार्फत सटही गर्न पाउने व्यवस्था पनि गरिनेछ । राष्ट्र बैंकको प्राथमिकता डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु पनि हो,’ उनले भने, ‘तर, क्यूआरबाहेक नोट लिएर आउनेलाई नयाँ नोट नदिने भन्ने चाहिँ हैन । नोट बोकेर आउनेलाई पनि हामीले नयाँ नोट उपलब्ध गराउँछौँ ।’
सम्भव भएसम्म क्यूआरको विकल्प राख्नलाई पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिने उनको भनाइ छ । असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो ।
त्यस्तै, यो वर्ष पनि सधैँझैँ एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिने शाक्यको भनाइ छ । पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले नै प्रतिव्यक्ति उपलब्ध गराइने शाक्यले जानकारी दिए ।
गत वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गतेदेखि र सर्वसाधारणलाई भदौ २९ गतेदेखि नयाँ नोट सटही गरेको थियो । गत वर्ष फूलपाती असोज १६ गते थियो । गत वर्ष फूलपातीभन्दा १७ दिन अगाडिदेखि नै नयाँ नोट सटही गरिएको थियो ।
यो वर्षको फूलपाती आउन २५ दिन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्