शिवानी विक । कोहलपुर ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत चिकित्सकहरूले बुधबार पनि आन्दोलन जारी राखेका छन् । विभिन्न नारा लेखिएका पम्प्लेटसहित उनीहरू आन्दोलमा उत्रिएका छन् ।
काठमाडौँ, पोखरा, धरानजस्ता मुख्य सहरहरू र देशका अन्य भूभागमा रहेका शिक्षण संस्थामा कार्यरत चिकित्सकहरूले अनाहकमा कुटाइ खाइरहेको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।
अस्पतालमा बिरामीहरूलाई दिइने सेवालाई प्रभाव नपर्ने गरी चिकित्सकहरूले बुधबारको आन्दोलनलाई निरन्तरता दिएका थिए । चिकित्सकले बिहान शिक्षण अस्पताल कोहलपुरबाट ¥याली निकाल्दै कोहलपुरको गोलपार्क, न्युरोड, एनटिभी चोक, एनटिभी प्रसारण केन्द्र हँुदै शिक्षण अस्पतालको आवास क्षेत्रनजिक कोण सभा गरेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै डा. देवेन्द्र आचार्यले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी बनेको पहिलो संशोधन ऐन अविलम्ब कार्यान्यन गर्न सरकारसँग माग गर्दै स्वास्थ्यकर्मीहरूको जिउधनको जिम्मा सरकारले लिनुपर्ने बताए ।
सरकारले डाक्टरहरूमाथि भएको विभेदलाई नजरअन्दाज गरेको भन्दै चिकित्सकहरूले आफ्नो पूर्ण सुरक्षाको ग्यारेन्टीको माग गरेका थिए । मानवीय सेवामा लागेका चिकित्सकहरूलाई कुटपिट गरिनुले स्वास्थ्य क्षेत्र नै असुरक्षित भएकाले आन्दोलनमा उत्रिनुपरेको आँखा रोग विशेषज्ञ डा. नन्दा गुरुङले बताइन् ।
देश चलाउने प्रधानमन्त्री र गृहमन्त्री आफ्नो सिद्धान्तबाट समेत च्युत हुँदै गएको आरोप लगाउँदै डा. गुरुङले स्वदेशमै दुःखले अध्ययन गरेर स्वदेशमै सेवा दिने सोच राखेका तमाम चिकित्सकहरूलाई राज्यले नै देश छोड्न बाध्य परिरहेको टिप्पणी गरिन् ।
शिक्षकहरू जस्तै देशभरिका चिकित्सक बिरामीको सेवा गर्न छोडेर आन्दोलनका लागि राजधानी जानुपर्ने अवस्थाको सिर्जना नगर्न सरोकारवालालाई चेतावनी दिइन् ।
डा. अनित अवालले बिरामीहरूको सेवालाई प्रभावित नपर्ने गरी बुधबार ४ बजेसम्म अस्पताल प्राङ्गणमा धर्ना कार्यक्रम गरिएको बताए । चिकित्सकहरूले राज्यले आफ्ना मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्