नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघले राप्ती नदीको सिधनीयाघाटमा विद्युतीय शवदाह गृह निर्माणको पहल लिएको छ ।
उक्त ठाउँमा व्यवस्थित शवदाह गृह निर्माणको आवाज उठिरहेका बेला बुधबार नेपालगन्ज आएका ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसमक्ष संघले विद्युतीय शवदाह गृहलगायतका विभिन्न मुद्दा सम्बोधनका लागि ज्ञापनपत्र बुझाएको अध्यक्ष टंकबहादुर धामीले बताए ।
धामीका अनुसार बाँकेको राप्ती नदीको सिधनीयाघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गरी खानेपानी र किरियापुत्री भवनको व्यवस्थापन गर्न जोडदार माग गरिएको छ ।
संघले ऊर्जामन्त्री बस्नेतसमक्ष विद्युत सेवा नियमित नहुँदा र चर्को विद्युत शुल्कको मारमा उद्योगी व्यवसायीहरू परेको उल्लेख गरेको छ । विद्युत सेवा सहज र सर्वसुलभ बनाएर उद्योगी व्यवसायीका समस्या समाधान गर्न माग गरिएको प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए ।
संघले नेपाल लोडसेडिङ मुक्त भए पनि बाँके जिल्ला, त्यसमा पनि नेपालगन्ज क्षेत्रमा बिनाकुनै पूर्वसूचना लामो समयसम्म विद्युत पटक–पटक अनियमित हुने भएकाले यो समस्याको तत्काल समाधान गर्न माग गरेको छ ।
त्यस्तै नेपालमै विद्युतीय ऊर्जामा आधारित कल–कारखाना तथा औद्योगिक प्रतिष्ठानका थुप्रै सम्भावना छन् । विदेशमा सस्तो दरमा विद्युत बिक्री गर्नुभन्दा स्वदेशमै खपत गर्ने वातावरण निर्माण गर्न ध्यानार्कषण गराइएको छ ।
संघले बाँकेको नौबस्ता औद्योगिक क्षेत्र शिलान्यास भएर निर्माणाधीन भएको जानकारी गराउँदै यो औद्योगिक क्षेत्रमा स्थापना हुने औद्योगिक प्रतिष्ठानमा केही वर्षसम्म विद्युत महसुल छुट गरी उद्योग स्थापना गर्ने वातावरण सिर्जना गरिदिन ऊर्जामन्त्रीमार्फत नेपाल सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्