मधुर पौडेल । बाँसगढी ।
नगरपालिकाभित्र देखिएका विभिन्न समस्या समयमै समाधान गर्नुपर्ने माग गर्दै बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीसमक्ष ज्ञापनपत्र बुझाइएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधिहरूले उपप्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । नगर प्रमुख खड्कबहादुर खड्का कार्यालय बाहिर रहेकाले उपप्रमुख चौधरीलाई ज्ञापनपत्र बुझाइएको हो ।
नेपाली कांग्रेसका लोहारी थारू, नेकपा (माओवादी केन्द्र)का भीमबहादुर खत्री र एकीकृत समाजवादीका कर्णबहादुर खड्काले मंगलबार संयुक्त रूपमा उपप्रमुख चौधरीलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरूप्रति गम्भीर बन्न आग्रह गरेका थिए ।
नगरभित्रका वास्तविक भूमिहीन, अव्यवस्थित तथा सुकुम्बासीहरूप्रति नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ । ज्ञापनपत्रमा उनीहरूले भूमिहीन, अव्यवस्थित तथा सुकुम्बासीका फाइल भूआयोगसम्बन्धी कार्य पूरा गरी यथाशीघ्र सम्बन्धित भूमि आयोगमा बुझाउन माग गरेका छन् । कतिपय फाइल हराएको भनी नगरपालिकाले गायब गरेको आरोपसमेत ज्ञापनपत्रमा लगाइएको छ ।
नगरपालिकामा देखिएका विभिन्न बेथितिहरूलाई तत्काल सुधार गर्नुपर्ने उनीहरूको माग छ ।
उपप्रमुखलाई बुझाइएको पाँचबुँदे ज्ञापनपत्रमा नगरपालिकाभित्र भइरहेको भ्रष्टाचार छानबिन गरी दोषीलाई तत्काल कारबाही गरिनुपर्ने, नगरपालिकाले बाँड्ने अनुदानमा गुणस्तरहीन भएकाले त्यसमा घोटाला भएको गुनासो आम नगरबासीबाट आइरहेकाले त्यसको छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने र आव २०७९/०८० मा विद्यालयलगायतका विभिन्न संस्थामा भुक्तानी दिनुपर्ने रकम अहिलेसम्म भुक्तानी नभएकाले तत्काल भुक्तानी गरिनुपर्ने रहेका छन् ।
त्यसैगरी, नगरभित्र भएको भ्रष्टाचारको छानबिन गर्न गठित छानबिन समितिले अहिलेसम्म प्रतिवेदन नबुझाएकाले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरिएिको छ । ज्ञापनपत्र बुझ्दै उपप्रमुख चौधरीले नगर प्रमुख बाहिर रहेकाले आएपछि ती मागका सम्बन्धमा छलफल गरिने बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्