कर्णालीका २.१ प्रतिशत जनता खोलाको पानी खान बाध्य



सुर्खेत ।

भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसंख्यामा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार कर्णालीका ३ लाख ६६ हजार ३७ परिवारमध्ये ३५ दशमलव ६ प्रतिशत परिवारलाई बाहिर धारा जडान गरी घर परिसरभित्र पानी उपलब्ध हुँदै आएको छ । त्यस्तै, ४४ दशमलव ४ जनसंख्यालाई पाइपबाट घर परिसरबाहिर धाराको पानी उपलब्ध छ । चार प्रतिशत परिवारले ट्युबवेलको पानी पिउने गरेको समेत तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, २ दशमलव १ प्रतिशत नागरिकले टाँकिएको इनारबाट, शून्य १ प्रतिशतले जारको पानी, २ दशमलव ५ प्रतिशतले खुला इनार र कुवाको पानी र २ दशमलव १ प्रतिशत जनसंख्याले खोलाको पानी प्रयोग गरिरहेको योजना महाशाखा सिडिई गोपाल शर्माले जानकारी दिए । सन् २०१९ को तथ्यांकअनुसार कर्णालीमा ३ दशमलव ५ प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ ।

सन् २०२१ को तथ्यांकअनुसार तीन लाख ६६ हजार ३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत परिसरभित्र पानी पिउने घरधुरीको संख्या १ लाख ३० हजार ४ सय ६५ परिवार रहेको छ । धारा, पाइपमार्फत परिसरबाहिर १ लाख ६२ हजार ६ सय १९ जनालाई पानी उपलब्ध हुँदै आएको छ । १ हजार ६ सय ३५ घरधुरीले ट्युबवेलमार्फत पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

राम्रोसँग ढाकिएको कुवाबाट पानी पिउने परिवारको संख्या ७ हजार ५ सय ७३ रहेको छ । ९ हजार २ सय १० परिवारले खुला रूपमा रहेको राम्रो कुवाको पानी पिउने गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै ४८ हजार ६ सय ९९ जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ । ४ हजार २ सय ७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ । जार र बोतलमा पानी पिउनेको संख्या चार सय ८० घरधुरी रहेको छ । त्यस्तै, अन्यमा १ हजार ८० घरधुरी रहेका छन् ।

डोल्पामा ९ हजार ३ सय ८० घरधुरीमा ३ हजार १ सय १७ घरधुरीले घरभित्र धारा बनाएर पानी खाइरहेको पाइएका छन् भने ४ हजार २ सय ५२ घरधुरीले घरबाहिर परिसरमा धारा बनाएर पानी पिउने गरेको तथ्यांकमा उल्लेख छ । राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुला कुवाको पानी १ सय ९२ घरधुरी, १ हजार ४ सय १३ घरधुरीलाई थोपा पानी, ३ सय ६३ घरमा खोलाको पानी र ११ घरधुरीले अन्य स्रोतबाट डोल्पामा पानी खाइरहेको मन्त्रालयले जनाएको छ ।

१२ हजार ४ सय ३० घरधुरी रहेको मुगुमा २ हजार १ सय ४ घरधुरीले घरभित्रको पानी पिउने गरेका छन् भने घरबाहिरको धारामा ५ हजार ६ सय ७५ घरले पानी प्राप्त गर्दै आएको उल्लेख छ । राम्रोसँग ढाकिएको कुवाको पानी ३ परिवारका र खुला कुवाको पानी ४३ घरले, थोपा पानी ४ हजार २ सय ४३ घरधुरीले, ३ सय ५० घरले खोलाको पानी, १ परिवारले जार बोतलको पानी प्रयोग गरिरहेको पाइएको छ ।

हुम्लामा ११ हजार २ सय ४ घरधुरीमा २ हजार २ सय २३ घरधुरीले घरभित्र पाइपमार्फत पानी प्रयोग गर्दछन् भने ७ हजार १ सय ५७ घरले खुला स्थानको पानी प्रयोग गरिरहेका छन् । त्यस्तै, २ घरले ट्युबवेल, २ घरले ढाकिएको कुवाको पानी, ३ परिवारले राम्रोसँग ढाकिएको कुवाको पानी, २० परिवारले खुला कुवाको पानी, १ हजार ५ सय ५५ परिवारले थोपाको पानी, ८५ परिवारले नदी र खोलाको पानी र १ सय ५९ परिवारले अन्य स्रोतबाट पानी पिउँछन् ।

जुम्लामा २४ हजार ४ सय २२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको संख्या ९ हजार ८ सय ८६ रहेको छ । १० हजार ३ सय ३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ । ढाकिएको कुवाको पानी १५ परिवार र खुला कुवाको पानी ४४ घरले पिउने गरेका छन् । थोपाको पानी ३ हजार ८ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन् । २ सय १४ घरले नदी खोलाको पानी पिउँछन् । अन्य ६० परिवारले विभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले बताइन् ।

कालीकोटमा २६ हजार ७ सय २० घरधुरीमध्ये ६ हजार २ सय ९३ घरधुरीले घरभित्र नै पानी पिउने गरेका छन् भने १३ हजार ५ सय ९५ घरधुरीले परिसर बाहिरको पानी प्रयोग गर्दछन् । ट्युबवेलको पानी एक घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, २ सय ३७ घरले खुला कुवाको पानी, ६ हजार ३ सय ६० घरधुरीले थोपाको पानी, २ सय २५ घरले नदी खोलाको पानी पिउने गरेको पाइएको छ ।

त्यसैगरी, ५४ हजार ५ सय ९४ घर भएको दैलेखमा १८ हजार ६ सय ७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार ८ सय तीन घरधुरीले पानी प्रयोग गर्दछन् । ५ सय ३१ घरधुरीले ढाकिएको कुवाको पानी र १ हजार २ सय ५४ घरघुरीले खुला कुवाको पानी पिउँछन् । ८ हजार ९ सय ३१ घरधुरीले थोपाको पानी प्रयोग गरिरहेका छन् ।

जाजरकोटमा ३७ हजार ४ सय ५३ घरधुरीमध्ये १३ हजार १ सय ५४ घरधुरीले घरभित्र नै पानी प्रयोग गरिरहेका छन् भने १८ हजार ३ सय १२ घरपरिवारले घरबाहिरको पानी प्रयोग गरिरहेका छन् । बन्द कुवाको पानी ६४, खुला कुवाको पानी ३ सय ८२, थोपाको पानी ५ हजार ४४, खोलाको पानी ३ सय ५३ परिवारले, २१ परिवारले जार, एक सय २३ परिवारले विभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए ।

त्यसैगरी, ३७ हजार २ सय ९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार १ सय ५७ घरघुरीले घरभित्र नै पानी प्रयोग गरिरहेकोमा घरबाहिरको पानी प्रयोग गर्नेमा १८ हजार ४ सय ८६ परिवार रहेका छन् । १९ परिवारले ढाकिएको कुवामा र २ सय ९९ परिवारले खुला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ ।

त्यस्तै, ५४ हजार ६ सय ७२ घरधुरी रहेको सल्यानमा घरभित्र पानी पिउनेको संख्या २० हजार २८ रहेकोमा घरबाहिरबाट पानी ल्याउने परिवारको संख्या २६ हजार ५० रहेको छ । त्यस्तै, ६ सय ९८ परिवारले ढाकिएको कुवाको पानी र १ हजार ६ सय ९७ परिवारले खुला कुवाको पानी प्रयोग गर्ने गरेका छन् । थोपा पानी प्रयोग गर्ने परिवारको संख्या ५ हजार ३ सय ८८ रहेको छ ।

प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार ८ सय २२ घरधुरी रहेकामा घरभित्र पानी पिउनेको संख्या ३९ हजार ७ सय ७० रहेको छ । त्यसैगरी, घरबाहिरको पानी प्रयोग गर्नेको संख्या ३३ हजार ७ सय ६० रहेको छ । त्यस्तै, १ हजार ६ सय ३२ परिवारले ट्युबवेलको पानी प्रयोग गर्ने गरेका छन् ।

त्यस्तै, ६ हजार १ सय ८० घरधुरीले ढाकिएको कुवाबाट, ५ हजार ८२ घर परिवारले खुला कुवाबाट र ९ हजार २ सय ८३ घरले थोपा पानी प्रयोग गर्ने गरेको पाइएको छ । नदी खोलाको पानी पिउनेको संख्या १ हजार ४ सय ६८ घरपरिवार रहेको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मंगलबार