बर्दिया ।
बढैयाताल गाउँपालिका–४ मा विवाह गर्दा वडाबाट स्वीकृति लिएर मात्र विवाह गर्नुपर्ने भएको छ ।
बाल विवाह अन्त्य गर्नका लागि वडाले निर्णय गरेर कार्यान्वयन समेत गरेको हो । २० वर्ष पूरा भएको प्रमाणसहित निवेदन दिई वडाबाट स्वीकृति लिएर मात्र विवाह गर्न पाइने निर्णय लागू भएको वडाध्यक्ष नरे थापाले जानकारी दिए ।
‘सन् २०२५ सम्म गाउँपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्ने रणनीति छ,’ उनले भने, ‘वडाले कार्यान्वयन गरेको निर्णयको अवज्ञा गरी उमेर नपुगेका बालबालिकाको विवाह गर्ने/गराउनेलाई वडाले दिने सेवासुविधाबाट वञ्चित गरिनेछ ।’ बढैयाताल गाउँपालिकामा २६ प्रतिशत बालविवाह हुने गरेको तथ्यांकले देखाएको छ ।
वडा नम्बर ४ मा २० प्रतिशत बालविवाह हुने गरेको वडाध्यक्ष थापाले बताए । २० प्रतिशतभन्दा कम सूचक भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न सकिने कानुनी प्रावधान छ ।
वडालाई छिट्टै बाल विवाहमुक्त गर्ने तयारी रहेकाले यस्तो निर्णय कार्यान्वयन गरेको अध्यक्ष थापाले बताए । यसअघि नै बढैयाताल गाउँपालिका वडा नंम्बर २, ३, ६ र ७ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्