राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’



No description available.बाँके ।

राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ औपचारिक रुपमा प्रयोगमा ल्याएको छ । गत असारबाट परिक्षण सुरु गरेपनि उक्त एपलाई आइतबारबाट औपचारिक रुपमा प्रयोगमा ल्याइएको हो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गुनासो एपलाई सञ्चालनमा ल्याएका हुन् । गाउँपालिका अध्यक्ष पौडेलले गुनासो एपका माध्यमबाट जनताका गुनासोहरुको तत्काल सम्बोधन हुने विश्वास ब्यक्त गरेका छन् ।

मोबाईलको प्लेस्टोरमा गई ‘गुनासो राप्तीसोनारी एप’ डाउनलोड गरेर सेवाग्राहीले गाउँपालिका कार्यालय, विषयगत शाखा, वडा कार्यालयसँग सम्बन्धित गुनासो पठाउन सक्नेछन् । यसबाट सम्बन्धित शाखालाई गुनासो पठाउन सकिने र गाउँपालिकासँग प्रत्यक्ष कुराकानी गर्न पनि सकिने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए ।

No description available.

गुनासो एपमा गाउँपालिकाले नागरिक बडापत्र नेपाली, थारु र अवधी भाषामा राख्ने तयारी गरेको उनले जानकारी दिए । गाउँपालिकालाई पारदर्शी, सुशासन मैत्री गराउन तथा जनताका गुनासोलाई छिटो भन्दा छिटो समाधान गर्ने उद्धेश्यले यस्तो एप प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाई छ ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार सेवाग्राहीले सम्बन्धित शाखा तथा वडा कार्यालयमा पठाएको गुनासोलाई तत्कालै सम्बोधन गर्ने ब्यवस्था मिलाइएको छ । जनताको गुनासो सम्बोधन भए/नभएको विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अनुगमन गर्न सक्ने सूचना प्रविधि अधिकृत पौडेलले बताए । यसका लागि गाउँपालिकाले सूचना अधिकारीलाई गुनासो सुन्नका लागि फोकल पर्सन बनाउने तयारी रहेको जानकारी दिए ।

No description available.

गाउँपालिकाले आइतबार उक्त एप प्रयोगमा ल्याएसँगै विभिन्न शाखा प्रमुख, कार्यपालिका सदस्य लगायतलाई प्रशिक्षण दिएको छ । ‘गुनासो एप प्रयोगमा ल्याउने राप्तीसोनारी गाउँपालिका बाँकेकै पहिलो हो,’ सूचना प्रविधि अधिकृत पौडेलले भने । राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्याएको गुनासो एप । साथै एपबारे शाखा प्रमुख र कार्यपालिका सदस्यलाई दिइएको प्रशिक्षण ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमबार