खजुरामा निःशुल्क स्त्रीरोग विशेषज्ञ शिविर



खजुरा (बाँके) ।

खजुरामा आयोजित स्त्रीरोग सम्बन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ९१ जनाले सेवा लिएका छन् । खजुरा एक नम्बरमा आदर्श युवा सञ्जालले आयोजना गरेको शिविरमा भेरी अस्पताल नेपालगन्जका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुबेदीले विशेषज्ञ सेवा प्रदान गरेका थिए ।

शिविरमा अधिकांश महिलाहरूको स्वास्थ्य अवस्था हेर्दा नियमित औधषी सेवन गर्नुपर्ने र ल्याब परिक्षण गर्नुपर्ने अवस्था देखिएको डा. सुबेदीले जानकारी दिए । शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक (तुफान)ले आदर्श युवा सञ्जाल अत्यावश्यक सेवाका कार्यमा लागेको भन्दै धन्यवाद व्यक्त गरे ।

खजुराका जनतालाई स्वास्थ्य सेवाको सहज पहुँचमा लैजान पालिका लागिरहेको बताउँदै उनले समाजमा परिवर्तन गर्न सञ्जाल जस्ता धेरै संघसंस्था आवश्यक रहेको बताए । शिविरमा बोल्दै खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ढकालले पालिकाले स्वास्थ्यसम्बन्धी गम्भीर कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गरे ।

सञ्जालका अध्यक्ष कल्पना तामाङले समाजमा रहेका समस्यालाई उजागार गर्दै आइपरेका कुराहरूलाई समाधान गर्दै सेवामूलक कार्यमा सहकार्य गर्दै आएको उल्लेख गरिन् ।

स्वास्थ्य शिविरका संयोजक तथा आदर्श युवा सञ्जाल खजुराका उपाध्यक्ष खगेन्द्र दाहालले खजुराका युवाहरूमा एकता कायम गर्न र सामाजिक कार्यमा संलग्न गराउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

संयोजक दाहालले सञ्जालले विभिन्न कार्यालयहरूसँग सहकार्य गरेर यस किसिमको सेवामूलक कार्य गरिरहने जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार