अन्धाधुन्ध खुकुरी प्रहारबाट महिलाको हत्या



दाङ ।

तुलसीपुरमा खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरामा खुकुरी प्रहार गरी शनिबार दिउँसो एक महिलाको हत्या गरिएको हो । खुकुरी प्रहारबाट अन्य दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बेलटाकुराका ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन् । वीरबहादुरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने चन्द्रकुमारीलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको छ ।

घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । घरमा बसेर कपासको बत्ती काटिरहेकी रिता लामिछानेमाथि हमालले खुकुरीले आक्रमण गरेको डिएसपी पोखरेलले जानकारी
दिए ।

उनका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै कुनै रिसइबी नभएका छिमेकी र गाउँलेहरूमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने टेकबहादुरलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ । खुकुरी प्रहारपछि घरमै लुकेर बसेको अवस्थामा प्रहरीले उनीलाई पक्राउ गरेको थियो ।

स्थानीयका अनुसार गाउँलेमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने टेकबहादुर करिब साढे दुई महिना अगाडि मात्रै छिमेकी देश भारतबाट घर फर्किएका हुन् । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार