कोहलपुर र नेपालगन्जबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ



बाँके ।

नेपालगन्ज र कोहलपुरका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ६५ ग्राम १६ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले नेपालगन्ज र कोहलपुरबाट दुई जनालाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय, नेपालगन्जको टोलीले बालैगाउँबाट बाबुगाउँतर्फ आउँदै गर्दा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–६ का २८ वर्षीय उदयराज मौर्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

पक्राउ परेका मौर्यको साथबाट ५० ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको थियो । डिएसपी डाँगीका अनुसार उनले पाइन्टको खल्तीमा ब्राउनसुगर राखेका थिए ।

त्यस्तै, कोहलपुर नगरपालिका–१ कौशिलानगरबाट प्रहरीले १५ ग्राम १६ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय प्रकाश विक रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

लागूऔषधको कारोबार भइरहेको छ भन्ने सूचना पाएर उनको कोठामा पुगेको प्रहरी टोलीले कोठा खानतलासी गर्दा लागूऔषध फेला पारेको थियो । पक्राउ परेका दुवै जना लागूऔषध ब्राउनसुगर कारोबारी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार