बाँके ।
देशभरका इट्टा उद्योगी बाँकेको कोहलपुरमा आइपुगेका छन् । आज हुन गइरहेको नेपाल इट्टा उद्योग महासंघको १५औं वार्षिक साधारणसभामा भाग लिन उद्योगीहरू कोहलपुर आइपुगेका हुन् ।
कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा हुने साधारणसभाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन् । अधिकांश प्रतिनिधि र परीवेक्षक बुधबार अबेरसम्म कोहलपुर आइसकेको नेपाल इट्टा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले जानकारी दिए ।
‘साधारणसभामा करिब ४ सय जनाको हाराहारीमा प्रतिनिधि र परीवेक्षकको सहभागिता हुन्छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अधिकांश सहभागीहरू आइसक्नुभएको छ । केही बाटोमै हुनुहुन्छ । उहाँहरू पनि उद्घाटन समारोहअघि नै आइसक्नुहुन्छ ।’
साधारणसभाको सम्पूर्ण तयारी पूरा भइसकेको अध्यक्ष चन्दले जानकारी दिए । केही विदेश राष्ट्रबाट समेत परीवेक्षकको रूपमा उद्योगीहरूको सहभागिता हुने नेपाल इट्टा उद्योग महासंघले जनाएको छ ।
करिब ७० वर्षपछि बाँकेमा देशभरका इट्टा उद्योगीहरूको भेला आयोजना गरिएको नेपाल इट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर ओली क्षेत्रीले बताए ।
‘करिब ७ दशकपछि देशभरका इट्टा उद्योगी बाँकेमा आउँदै हुनुहुन्छ,’ उनले भने, ‘यो बाँकेमा लागि एउटा राम्रो अवसरसमेत हो । यसका लागि अवसर जुटाइदिने सबैलाई बाँके शाखा धन्यवाद दिन चाहन्छ ।’
साधारणसभामा इट्टा उद्योगीले पछिल्लो समयमा झेल्नुपरेका समस्याहरूका बारेमा समेत गहन रूपले छलफल हुनेछ । उद्योगीका समस्या तथा त्यसका समाधानका उपायलगायतका विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने महासंघका अध्यक्ष चन्दले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्