बाँके ।
मेसिनरी पाटपुर्जा तथा प्राविधिक सामग्रीको पूजाआजा गरी आज (सोमबार) विश्वकर्मा पूजा मनाइँदै छ । भगवान विश्वकर्माको जन्म भएको दिनका रूपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा लिइन्छ ।
मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ ।
सवारी साधन, कलकारखाना, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकिर्तन तथा नाचगानसमेत गर्ने गरिन्छ ।
महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएका धार्मिक विश्वास छ । हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको रूपमा लिने गर्दछन् । शास्त्रमा उल्लेख भएअनुसार उनले पाताल, भूलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए ।
उनले सत्य युगमा स्वर्गलोक, त्रेता युगमा लंका, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति बनाएको मानिन्छ ।
यो नेपालसहित पूर्वोत्तर भारत र बंगाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ ।
सिर्जनात्मक कर्म गर्नेलाई मूल विश्वकर्मा मानिने हुँदा विश्वकर्माको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा दिनुका साथै काममा आउने बाधाअड्चनहरूलाई तोडिदिन्छ भन्ने विश्वास गरिन्छ ।
विश्वकर्माको पूजा गर्दा वर्षभरि मेसिनरी औजारको प्रयोगका क्रममा चोटपटक नलाग्ने तथा दुर्घटना नहुने धार्मिक विश्वास रहेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्