शिवु खनाल । दाङ ।
हाम्रै वरपर देखिने वा भेटिने थुप्रै दृश्यहरूमध्ये ओसिलो, धापिलो, थलथले, दलदले, पानी जमिरहने वा कहिल्यै पानी नसुक्ने जमिनको क्षेत्रलाई बोलीचालीको भाषामा सिमसार भनिन्छ । अझ सरल भाषामा सिमसार भनेको जहाँ पानी कहिल्यै सुक्दैनन् र जमिन लुक्दैन त्यही जमिन हो ।
दाङमा यस्ता थुप्रै सिमसार क्षेत्र रहेका छन्, जसको उचित संरक्षण हुन सकेको छैन । तर अजम्मरी सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई भने व्यवस्थित गरिने भएको छ । लमही नगरपालिका–५ स्थित बसपार्कदेखि उत्तरतर्फ सामुदायिक वनभित्रका सिमसार व्यवस्थापनका लागि अजम्मरी सामुदायिक वन उपभोक्ता समूह अग्रसर बनेको छ ।
वन क्षेत्रभित्र दुई हेक्टर क्षेत्रफलमा फैलिएको सिमसारलाई व्यवस्थित गर्नका लागि पहिलो चरणको काम भइरहेको सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले बताए । सिमसार क्षेत्रलाई व्यवस्थित एवं प्रवद्र्धनका लागि पहिलो चरणमा सरसफाइको काम अगाडि बढिरहेको उनले बताए । पुरिएका प्राकृतिक खाल्डोलाई सरसफाइ गरी पोखरी बनाउने कार्य भइरहेको उनले जानकारी दिए ।
‘पानीको स्रोत राम्रो भएकाले हामी उत्साहित छौँ,’ अध्यक्ष रिजालले भने, ‘सिमसार व्यवस्थापनका लागि केही रकम छुट्ट्याएरै खर्च गर्ने योजना छ ।’ सिमसार व्यवस्थापनका लागि सामुदायिक वनले आफ्नो वार्षिक बजेटको केही रकम खर्च गर्ने योजना बनाएको छ । हाल ऋण खोजेर सिमसार क्षेत्रको सरसफाइ भइरहेको छ ।
सिमसार व्यवस्थापनका लागि भू तथा जलाधार कार्यालयबाट केही आवश्यक बजेट माग गरिएको छ । पर्याप्त स्रोत र साधन उपलब्ध भए यही आर्थिक वर्षभित्र पर्यटकका लागि सिमसार खुला गरिनेछ । पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ सामुदायिक वनमा अवस्थित यो सिमसारमा विभिन्न प्रजातिका जंगली जनावर तथा कछुवा, अजिंगर पाइने गरेका छन् । सालका रूख बढी भएको यो सिमसारलाई संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना तयार गर्ने योजना बनाइएको छ ।
डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्री सिमसार क्षेत्र तत्काल संरक्षण गर्न आवश्यक रहेको बताउँछन् । उनले सिमसार क्षेत्र संरक्षणको कमीका कारण राष्ट्रिय रूपमा विभिन्न प्रजातिका वन्यजन्तु, चराचुरुंगी तथा, लोपोन्मुख स्तनधारी जनावरको बासस्थान खतरामा पर्नसक्ने बताए ।
सिमसार क्षेत्रको संरक्षणका लागि युवा पुस्ता, सार्वजनिक संस्था, स्थानीय, निजी क्षेत्र, शिक्षक, वैज्ञानिक र सिमसार क्षेत्र संरक्षण अभियानकर्ता एक हुनुपर्ने अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताए ।
यस्तै, लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)ले सिमसार क्षेत्रको संरक्षणमा आफू लागिपरेको बताए । स्थानीय सरकार संरक्षणमा लागिपरेको उनको भनाइ छ । वडा क्षेत्रभित्र रहेका सिमसार क्षेत्रको संरक्षण र संवद्र्धनका लागि आफू निरन्तर लागिरहने प्रतिबद्वता उनले जनाए ।
लमही नगरपालिकाका इन्जिनियर सौगात वलीले सिमसार क्षेत्रको महत्व जनमानसमा पु¥याउन नसक्दा संरक्षणमा चुनौती थपिएको धारणा राखे । सिमसार क्षेत्रको प्रदूषण नियन्त्रण र सरसफाइलाई ध्यान दिन सकेमा मात्रै संरक्षण गर्न सकिने उनको भनाइ छ । उनले स्थानीय तहमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी ज्ञानको अभावका कारण समस्या थपिँदै गएको बताए ।
प्रतिक्रिया दिनुहोस्