जलेर आमाछोरीको मृत्यु



सुर्खेत ।

कर्णाली प्रदेशको पहाडी जिल्ला सल्यानमा आगलागीबाट आमा–छोरीको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ धारढुंगाकी अन्दाजी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापाको आगलागीबाट मृत्यु भएको हो ।

रेबतीका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा रहेको हुँदा आमाछोरी मात्रै घरमा बस्दै आएका थिए ।

घटनाबारे प्रहरीलाई स्थानीयले बिहान साढे ७ बजे खबर गरेपछि प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

आमा छोरीको घरभित्रै जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको उनले बताए ।

‘शुक्रबार राति सुतेको समयमा आगलागी भएको वा बिहान मात्रै आगलागी भएको हो त्यो खुलिसकेको छैन,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘घरमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान हुन बाँकी छ ।’

प्रारम्भिक अनुसन्धानमा हेर्दा ग्यास लिक भएर आगलागी भएको हुन सक्ने देखिएको सल्यान प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुखसहित प्रहरी अधिकृतको टोली पुगेर अनुसन्धानका अगाडि बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार