बाँके ।
थारू समुदायले आफ्नो मौलिक पर्व अटवारी आज धुमधामका साथ मनाउँदै छन् । मुख्यगरी थारू पुरुषहरूले व्रत बसी मनाइने अटवारी पर्व यो समुदायको महान् पर्व हो । अटवारीको अघिल्लो दिन भिन्सर्या (अघिल्लो मध्यराति)मा दर खाने गरिन्छ । आज (आइतबार) दिउँसो रोटी पकाउने गरिन्छ । रोटी पकाउन शुद्ध आगोको प्रयोग गरिन्छ ।
यो आगो नफुकेरै सकेसम्म माघी पर्वसम्म जोगाएर राख्ने चलन रहेको थारू अगुवाहरूको भनाइ छ । शनिबार राति दर खाएपछि आज (आइतबार) दिनभरि व्रत बस्ने परम्परा थारु समुदायमा रहेको बाँके राप्तीसोनारीका थारू अगुवा रामलखन थारूले जानकारी दिए ।
साँझ अटवारी परिकार खानुअघि आफ्ना दिदीबहिनीका लागि केही भाग निकाल्ने र आगोको पूजा गरिन्छ । अटवारीमा रोटी, केरा, अम्बा, काँक्रो, फलफूल, सर्वत र दही खाने गरिन्छ ।
भोलि सोमबार बिहान नुहाएर खाना पकाउन सुरु गरिन्छ । खाना तयार भएपछि दाइभाइले दिदीबहिनीका लागि आफ्नो खानाबाट अग्रासन वा केही भाग छुटाउँछन् । सोही दिन अथवा सोमबार विवाहित दिदीबहिनीको घरमा अग्रासन दिन जाने परम्परा रहेको छ ।
खासगरी पश्चिम तराईका थारू समुदायले अटवारी पर्व धूमधामका रूपमा मनाउँछन् । तर पूर्वका थारू समुदायले भने यस पर्वलाई रैव पर्वको रूपमा मनाउने गर्छन् ।
खासगरी सूर्य भगवान् र महाभारतका एक मुख्यपात्र भीम (भेवाँ), पाँच पाण्डवको पूजा गरी अटवारी पर्व मनाइने गरेको कोहलपुरका थारू अगुवा जनक चौधरीले बताए ।
अटवारी पर्वको अवसरमा लुम्बिनी सरकारले आज दाङ, बाँके र बर्दिया जिल्लाका थारू समुदायलाई सार्वजनिक बिदा दिएको छ ।









प्रतिक्रिया दिनुहोस्