तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा



बाँके ।

लुम्बिनी प्रदेश सरकारले असोज १ गते सार्वजनिक बिदा दिएको छ । हिन्दु महिलाहरूको हरितालिका तीज पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को गत चैत १७ गतेको निर्णयानुसार प्रदेश राजपत्रमा प्रकाशित जानकारी बमोजिम असोज १ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको गृह मन्त्रालयका अधिकृत माधव शर्माले जानकारी दिए ।

लुम्बिनी सरकारले भदौ ३१ गते बडका अट्वारी पर्वका अवसरमा दाङ, बाँके र बर्दियाका थारू समुदायलाई सार्वजनिक बिदा यसअघि नै दिइसकेको छ । अट्वारी पर्वका अवसरमा विभिन्न स्थानीय तहहरूले समेत सार्वजनिक बिदा दिएका छन् ।

प्रकाशित मिति : २०८० भदौ ३० गते शनिबार