बिरामी कुरुवा घर अस्पताललाई हस्तान्तरण



नेपालगन्ज ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा निर्मित सुविधा सम्पन्न हस्पिक सेन्टर (बिरामी कुरुवा घर)को उद्घाटन तथा हस्तान्तरण गरिएको छ । शुक्रबार औपचारिक कार्यक्रमका बीच लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक पिएमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले कुरुवा घर क्यान्सर अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब अफ नेपालगन्ज खजुरा र लायन्स क्लब अफ नेपालगन्ज सेन्टरले बिरामी कुरुवा घरको निर्माण गरेका हुन् ।

कुरुवा घर निर्माणका लागि लायन्स इन्टरनेसनलले एक करोड ११ लाख ५६ हजार ४ सय २ रुपैयाँ र अस्पतालले ३७ लाख ६५ हजार २ सय ६ रुपियाँ सहयोग गरेको लायन्स क्लब अफ नेपालगन्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उपचारका लागि आउने बिरामीका कुरुवालाई घर निर्माण भएपछि थप सहज हुने अध्यक्ष भण्डारीले बताए ।

अध्यक्ष भण्डारीले भने, ‘हस्पिक सेन्टर सञ्चालनमा आएपछि क्यान्सर अस्पतालमा आएका जटिल प्रकृतिका बिरामीका कुरुवालाई धेरै सहज हुनेछ ।’

कुरुवा घरमा १५ वटा कोठा रहेका छन् । सबै कोठामा अट्याच बाथरुम र कमन किचनसमेत रहेको भण्डारीले जानकारी दिए ।
बिरामी कुरुवाले निःशुल्क रूपमा बिरामी कुरुवा घरको सेवा लिन सक्नेछन् । बस्नका लागि होटल नभएको खजुरामा कुरुवा घर सञ्चालनमा आएपछि टाढाका बिरामीलाई सहज हुनेछ । सो अवसरमा क्यान्सरका बिरामीका लागि आवश्यक पर्ने लिन्यास मेसिन छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन पनि माग गरिएको थियो ।

प्रकाशित मिति : २०८० भदौ ३० गते शनिबार