हात्तीपाइलेविरुद्धको औषधि नेपालगन्ज बजार क्षेत्रमै भएन प्रभावकारी



बाँके ।

सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि नेपालगन्ज उपमहानगरपालिका–३ मा औषधि सेवनदर भने अत्यन्त न्यून देखिएको छ । सन् २०२१ मा २३ प्रतिशत कभरेज रहेकोमा २०२२ मा घटेर २२ प्रतिशतमा झरेको छ । कभरेज बढ्नुको साटो घटेपछि सरोकारवाला चिन्तित छन् ।

नेपालगन्जको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेसी र मुस्लिम समुदायको बसोबास छ । औषधि सेवनदर बढाउन जिल्ला तथा उपमहानगरपालिकाका स्वास्थ्य अधिकारीहरूसँगको परामर्श र छलफलका आधारमा वडा नम्बर ३ लाई पाइलट क्रियाकलापका लागि छनोट गरिएको थियो ।

पाइलट क्रियाकलापको मुख्य लक्ष्य आम सर्वसाधारणमा औषधि सेवनसम्बन्धी सचेतीकरण गर्ने, समुदायको संलग्नता बढाउने थियो । त्यसका लागि व्यवहार परिवर्तन समूह गठन गरी समुदायमा परिचालन गरिएको थियो । व्यवहार परिवर्तन समूहले औषधि सेवन कार्यक्रम सञ्चालन हुनुपूर्व सचेतना फैलाउने, घरदैलो गर्दै औषधि वितरण गर्ने, क्रमिक भेटघाट गरी औषधि सेवनका लागि प्रभावित गर्नेलगायतका कार्य गरेको शोभा लामाले बताइन् ।

पाइलट क्रियाकलापका मुख्य सिकाइबारे जानकारी गराउन शुक्रबार नेपालगन्जमा आयोजित कार्यशालामा लामाले औषधिप्रतिको गलत धारणा र बुझाइ मुख्य समस्या भएको बताइन् । ‘समाजका अगुवाहरूले नै औषधिबारे अफबाह फैलाउने गरेको पाइयो,’ उनले भनिन् ।

पाइलट क्रियाकलापपछि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन औषधि सेवनमा सहभागिता न्यून भएका सहरी क्षेत्रलाई दृष्टिगत गरी स्थानीय आम औषधि सेवन रणनीति तयार गर्नुपर्ने, आम औषधि सेवनभन्दा अगाडि वा वितरणको दौरानलाई लक्षित गरी सूचना, शिक्षा र संवाद सामग्रीहरू सुधार गर्नुपर्ने र निर्दिष्ट सामाजिक परिचालनलाई समुदायमा सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालिएको लामाले बताइन् ।

पाइलट क्रियाकलापका दौरान न्यून औषधि सेवन भएका टोलहरूमा २ सय ९१ घरधुरीमध्ये २ सय ४१ अर्थात ८२ प्रतिशत बजार क्षेत्रकै मानिसले औषधि सेवन नगरेको पाइएको उनले बताइन् । मधेसी र मुस्लिम समुदायको बसोबास रहेका अन्य वडाहरूमा पनि निकै कम कभरेज भएको पाइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वागत मन्तव्यसँगै कार्यशालाको उद्देश्यमाथि प्रकाश पारेका थिए । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम २०७९ फागुन ११ गतेदेखि फागुन २१ गतेसम्म सञ्चालन गरिएको थियो । हात्तीपाइले उन्मूलनका चुनौती तथा अवसरहरू पहिचान गर्नका लागि बाँके, दाङ र कपिलबस्तुमा पाइलट क्रियाकलाप सञ्चालन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ३० गते शनिबार