रोल्पा ।
कृषि क्षेत्रमा ठूलो लगानी भए पनि प्रतिफल नदेखिएको भन्दै आलोचना भइरहेका बेला रोल्पा नगरपालिकाले भने कृषिमा प्रतिफल देखिने गरी काम अघि बढाएको छ । नगरपालिकाले मध्यमस्तरको कृषि जनशक्ति उत्पादनदेखि उत्पादनमा आधारित अनुदानसम्मका कार्यक्रम अघि सार्दै कृषकले अनुभूति गर्ने गरी काम अघि बढाएको हो ।
कृषि र पशु विज्ञान अध्ययन गर्नेहरूका लागि नगरपालिकाले हरेक वर्ष निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । तीनबर्से डिप्लोमा तहको पठनपाठनका माध्यमबाट मध्यमस्तरको जनशक्ति तयार भई नगरभित्रको कृषि प्राविधिकको आवश्यकता पूरा हुने नगरपालिकाले अपेक्षा लिएको छ । त्यसका लागि वडा नं १ मेवाङमा रहेको बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने गरेको छ ।
चालु आर्थिक वर्ष नगरपालिकाले सात जनालाई बाली विज्ञान र सात जनालाई पशु विज्ञानमा छात्रवृत्ति दिन कार्यक्रम अघि सारेको छ ।
नगरपालिकाले वडा नं ३ र ४ लाई दूध पकेट क्षेत्रका रूपमा विकास गर्न अघिल्लो वर्ष ४० उन्नत जातका भैँसी वितरण गरेको जनाएको छ । नगरपालिकाले किसाहरूलाई घरमै प्राविधिक सहायता र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाइएको जनाएको छ । किसानहरूले उत्पादन गरेको दूध सहज खपतका लागि सदरमुकाम लिवाङमा दुग्ध सहकारीसमेत स्थापना गरिएको छ ।
नगरपालिकाको सहजीकरणमा दुग्ध उत्पादक किसानहरूले गत वर्षको पुसमा उक्त सहकारी स्थापना गरेका थिए । सहकारी स्थापना भएयता कृषकहरूले करिब ३० हजार लिटर दूध बिक्री गरेको सहकारीले जानकारी दिएको छ । उक्त दूधको नगरपालिकाका तर्फबाट प्रतिलिटर पाँच रूपैयाँका दरले अनुदान दिने गरिएको छ । हालसम्म किसानहरूले करिब एक लाख ५० हजार रूपैयाँ अनुदान लिइसकेका छन् ।
नगरपालिकाले चालु आर्थिक वर्षदेखि वडा नं १ देखि ७ सम्मलाई ‘मिल्क करिडोर’ बनाउने गरी कार्यक्रम तय गरिएको नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले जानकारी दिए । नगरपालिकाले चालु आर्थिक वर्षमा उन्नत जातका ४० गाई वितरण गर्ने योजना अघि सारेको छ ।
त्यसका लागि नगरपालिकाले ४० लाख रूपैयाँ बजेटसमेत विनियोजन गरेको जनाएको छ । किसानले उत्पादन गरेर बढी भएको दूध जिल्लाबाहिर लैजान नगरपालिकाले सहजीकरण गर्नेसमेत नगर प्रमुख घर्तीमगरले जानकारी दिए ।
कृषकहरूले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागि कृषि हाट बजारसमेत सञ्चालनमा आएको छ । केही समय कर्मचारी मिलन केन्द्र नजिकै स्थापना गरिएको उक्त हाट बजार केही दिनयता हाट बजार केन्द्रबाटै सञ्चालन भइरहेको छ । हाट बजार सञ्चालन भएयता कृषकहरूले झन्डै ५० हजार किलो तरकारी बिक्री वितरण गरेका छन् ।
व्यावसायिक किसानहरूलाई प्रोत्साहित गर्न नगरपालिकाले तरकारीमा प्रतिकिलो पाँच र केरामा प्रतिगोटामा दुई रूपैयाँका दरले ढुवानी अनुदान दिने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा चिस्यान गृह निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । त्यसका लागि नगरपालिकाले एक करोड रूपैयाँ बजेट विनियोजनसमेत गरेको छ ।
यसका साथै कृषि एम्बुलेन्स खरिदका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । यसै वर्षदेखि कृषि उपजको समर्थन मूल्य कायम गरि नगरपालिकाबाटै खरिद, भण्डारण तथा बजार व्यवस्थापनको प्रबन्ध मिलाउने नगरपालिकाको भनाइ छ ।
विदेशबाट फर्केका ४२ युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रमसमेत नगरपालिकाले अघि सारेको छ । कृषि र पशुजन्य क्रियाकलापबाट स्वरोजगार बनाउँदै उद्यमशील बनाउन नगरपालिकाले अघिल्लो वर्ष १७ लाख २० हजार रूपैयाँ अनुदान वितरण गरेको थियो ।
पहिलो चरणमा ३२ युवालाई तीनदिने व्यावसायिक पशुपालन तालिम प्रदान गरेको नगरपालिकाले जनाएको छ । बाख्राको नस्ल सुधारका लागि नगरपालिकाले ५० वट बोयर जातका बोका किसानलाई वितरण गरेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्