10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

मन्त्रालय नबढाई लुम्बिनी सरकारलाई पूर्णता दिन कांग्रेसको निर्देशन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २९, २०८०  

बाँके ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आर्थिक भार थपिने गरी मन्त्रालय नबढाई तत्काल सरकारलाई पूर्णता दिन आग्रह गरेको छ ।

लुम्बिनी सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले आर्थिक भार पर्ने गरी मन्त्रालयको संख्या नबढाउन निर्देशन गरेको हो ।

लुम्बिनी प्रदेशमा हाल मन्त्रालय थप्नेबारे छलफल चलिरहेको भन्दै अहिलेको अवस्थामा मन्त्रालयको संख्या थप गर्दा आर्थिक भार थपिने र त्यसले नागरिक स्तरमा नकारात्मक प्रभाव पर्ने मुख्य सचिव मोहनराज शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाल विद्यमान मन्त्रालयको संख्या नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन कांग्रेस नेता तथा प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई निर्देशन दिइएको छ ।

संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकारले प्रदेश सरकारलाई संविधानले तोकेअनुसारका अधिकार दिन पनि माग गरिएको छ ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले सरकार गठनको ५ महिना भइसक्दा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् । अहिले लुम्बिनीमा मुख्यमन्त्रीको कार्यालयसहित १० मन्त्रालय रहेकोमा ३ मन्त्रालय खाली छन् ।

प्रकाशित मितिः शुक्रबार, भदौ २९, २०८०     8:02:12 PM  |