23 September 2023  |   शनिबार, अशोज ६, २०८०

बर्दिया आइपुग्यो अमलटारीको पाटेबाघ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २९, २०८०  

बाँके ।

बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारामा चितवन निकुञ्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको पाटेबाघ ल्याइएको छ ।

केही दिनअघि चितवन निकुञ्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको समस्याग्रस्त पाटेबाघ राख्ने खोरको अभावमा बिहीबार बर्दिया ल्याइएको हो ।
चितवनमा समस्याग्रस्त पाटेबाघ राख्नका लागि खोरको अभाव भएपछि बर्दिया निकुञ्जमा ल्याइएको बर्दिया निकुञ्जका सूचना अधिकारी आशिष न्यौपाने जानकारी दिए ।

पाटेबाघलाई निकुञ्जको ठाकुरद्वारामा रहेको खोरमा राखिएको उनले बताए । ‘बिहीबार बिहान आइपुगेको बाघलाई हामीले अहिले ठाकुरद्वारामा रहेको खोरमा राखेका छौं,’ उनले मिसन टुडेसँग भने, ‘तत्काललाई समस्याग्रस्त बाघलाई ठाकुरद्वाराकै खोरमा राखिन्छ ।’

नवलपरासीको अमलटारी क्षेत्रबाट नियन्त्रणमा लिइएका दुई वटा पाटेबाघमध्ये एउटालाई चितवन निकुञ्जले बर्दिया निकुञ्जमा पठाएको हो । एउटा बाघको बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको थियो ।

मंगलबार नियन्त्रणमा लिएर चितवन निकुञ्जको कसरामा राखिएको अन्दाजी १० वर्षको भाले पाटेबाघलाई बर्दियामा पठाइएको बताइएको छ । पाटेबाघले केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो ।

चितवनमा राख्ने ठाउँ नभएकै कारण बर्दिया निकुञ्जमा पठाइएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २९, २०८०     7:55:37 PM  |