कमल डाँगी । नेपालगन्ज ।
नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै १ करोड ४६ लाख मूल्यबराबरको २५ हजार ४ क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको छ । जबकि गत आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ५३ लाख मूल्यबराबरको २ सय १५ क्युबिक मिटर प्लाइउड निर्यात भएको थियो । नेपालगन्ज भन्सार कार्यालयकाअनुसार उक्त आर्थिक वर्षभित्र भने १४ करोड मूल्यबराबरको २१ लाख क्युबिक मिटर प्लाइउड निर्यात भएको थियो ।
सरकारले निर्यातलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रम राखेपछि नेपालगन्ज नाका हुँदै प्लाइउडको निर्यात ह्वात्तै बढेको छ । त्यसको दर चालु आर्थिक वर्षमा अझै बढ्ने संकेत आर्थिक वर्षको पहिलो साउन महिनामा भएको निर्यातको तथ्यांकले नै देखाएको छ ।
‘सरकारले प्रोत्साहन गरेपछि प्लाइउड उद्योगको निर्यात बढेको छ । यसले उद्योगी व्यवसायीलाई निर्यात व्यापारका लागि उत्साह थपेको छ,’ शिखर प्लाइउड उद्योगका प्रबन्ध निर्देशक चम्पालाल बोथराले भने, ‘अब हामीले प्लाईका लागि कच्चापदार्थका रूपमा चाहिने रूखहरू लगाउन कृषकहरूलाई प्रोत्साहन गर्नुपर्छ ।’
कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा रहेको बोथराको शिखर प्लाई उद्योगले भारतका विभिन्न सहरमा नेपाली प्लाइउड बिक्री गरिरहेको छ । अन्य उद्योगले पनि भारतको लखिमपुर र लखनउको पाटीलाई प्लाई बेचिरहेका छन् । वन कार्यालयबाट स्वीकृति पाएपछि ट्रान्जिट परमिट लिएर निर्यात हुँदै आएको छ ।
भारतमा बिक्री गर्दा ठूलो परिणाममा खपत हुने र उधारोको झन्झट पनि बेहोर्नु नपर्ने उद्योगी बताउँछन् । उद्योगी बोथराकाअनुसार विगतमा नेपाली प्लाई उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण कच्चापदार्थका लागि भारतीयमा निर्भर रहनुपथ्र्यो । पछिल्लो समय नेपालमै कच्चापदार्थको उत्पादन हुन थालेको छ ।
तर त्यो पर्याप्त नभएको बोथराले जानकारी दिए । पर्याप्त मात्रामा नेपालमै कच्चापदार्थ उत्पादन गरेर प्लाई निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए । प्लाइउड उत्पादक संघका पूर्वअध्यक्षसमेत रहेका बोथरा नेपाली उत्तीसको प्लाइउडको भारतमा उच्च माग रहेको बताउँछन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उत्पादनलाई निर्यातका लागि प्रोत्साहन गर्ने नीति लिएका कारण भारत निर्यात सम्भव भएको उद्योगी बोथराले बताए । सरकारले नेपाली उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्ना उत्पादन निर्यात गरे निर्यातको करिब ८ प्रतिशतसम्म नगद अनुदान दिने नीति ल्याएको छ ।
सरकारले कार्यविधि बनाएर बजेटमा उल्लेख गरेको कुरा कार्यान्वयन गरेसँगै सिमेन्टपछि प्लाईसमेत भारतका बजारमा निर्यात हुन थालेको हो । नेपाली कच्चापदार्थबाट उत्पादन भएको प्लाई भारत निर्यात थालिएको उद्योगले जनाएको छ ।
‘छब्बीस वर्षअघि उद्योग खोल्दा हामीले देखेको सपना अहिले पूरा भयो,’ आफ्नो उत्पादन भारत निर्यात गर्दा खुसी देखिएका उद्योगी बोथराले भने, ‘कृषक दाजुभाइहरूले लगाउनुभएको कच्चापदार्थका कारण यो सम्भव भएको हो ।’ प्लाई उत्पादनका लागि नभई नहुने लिप्टिसजस्ता रूख लगाउन उद्योगी बोथराले अभियान नै सुरु गरेका थिए । अहिले तिनै रूखहरू प्लाईमा प्रयोग गर्न मिल्ने भएका छन् ।
कच्चापदार्थको सहजताका कारण निर्यातको माहौल बनेको उद्योगी बोथरा बताउँछन् । ‘विगतमा त्यस्तो कच्चापदार्थ भारतबाट हामीले मगाउनुपथ्र्यो । कच्चापदार्थमै करोडौं रुपैयाँ त्यता जान्थ्यो तर अहिले अवस्था बदलिएको छ,’ उनले भने, ‘स्वदेशमै कच्चापदार्थको उपलब्धताले हामीप्लाई भारत निर्यात गर्न सक्षम भएका हौं । यसले देशमा विदेशी मुद्राको बढोत्तरी र कच्चापदार्थ उत्पादनमा लागेका कृषकलाई फाइदा गर्छ ।’
प्रतिक्रिया दिनुहोस्