बाँके ।
हालसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमै रहेको कर्णाली प्रदेशको प्रहरी विशेष सुरक्षा गण स्थानान्तरण गर्न प्रक्रिया थालिएको छ । त्यसका लागि कर्णाली प्रदेश सरकारले आवश्यक बजेट स्वीकृत गरेको छ ।
संघीयताको एक कार्यकाल बितिसक्दा पनि कर्णालीका प्रहरी संरचनाहरू अझै लुम्बिनीमै रहेका छन् । जसअन्तर्गत निकै महत्वपूर्ण मानिएको सुरक्षा गणलाई कर्णालीमा स्थानान्तरणका लागि काम अघि बढाइएको हो ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी ‘जितेन्द्र’का अनुसार १ करोड ९१ लाख २९ हजार ८ सय ६४ रुपैयाँबराबरको बजेट स्वीकृत भएको छ ।
प्रहरी संरचनाका लागि सुर्खेतको गुर्भाकोट नगरपालिकामा–१३ र १४ मा जग्गा प्राप्त भइसकेको छ । २६ असारमा भएको संघीय मन्त्रिपरिषद्ले जग्गाको स्वीकृत दिने निर्णय गरेको थियो ।
सोही अनुसार साबिक गुमी गाविस–३ (हाल गुर्भाकोट १३,१४) ग कित्ता नम्बर ४० को ३.५.१ बिघा क्षेत्रफलमध्ये १.८.० बिघा र सोही गाविस–५ च कित्ता नं २ को २.२ .१९.५ बिघा जग्गा प्रहरी विशेष सुरक्षा गण कर्णाली प्रदेशलाई प्रदान गर्न स्वीकृत भइसकेको छ ।
१२ साउनमा कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्रअनुसार बाँकेमा रहेको उक्त प्रहरी संरचनालाई गुर्भाकोटमा स्थानान्तरण गरिने तय भएको उनले बताए ।
सो ठाउँमा तत्कालीन अवस्थामा रहेका भवनहरू उपयोगविहीन भई जीर्ण अवस्थामा रहेका छन् । ती भवनहरूको मर्मत सम्भार र पुनः निर्माणका लागि सरकारले बजेट स्वीकृत गरेको मन्त्री जिसीले जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट खर्च व्यहोर्ने गरी रकम विनियोजन गर्न स्वीकृत दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्