नेपालगन्ज–गुलरिया सडकः पानी पर्दा हिलाम्य र घामलाग्दा धुलाम्य बन्दा सास्ती



नेपालगन्ज–गुलरिया सडकखण्ड स्तरोन्नतिको काम तीव्रगतिमा सुरु गरेको शर्मा एन्ड कम्पनीको लापरबाहीका कारण स्थानीय र सवारी चालकले मात्रै होइन, यात्रुहरूले समेत सास्ती भोगिरहेका छन् । कम्पनीको सानो लापरबाहीका कारण निर्माण भइरहेको सडक पानी पर्दा हिलाम्य र घामलाग्दा धुलाम्य हुने गरेको छ ।

नेपालगन्ज ।

तीव्र गतिमा निर्माण भइरहेको नेपालगन्ज–गुलरिया सडकखण्डको निर्माणमा देखिएका सानासाना कमजोरीले यात्रुलाई सास्ती हुने गरेको छ । निर्माण कम्पनीको सानो लापरबाहीका कारण निर्माण भइरहेको सडक पानी पर्दा हिलाम्य र घामलाग्दा धुलाम्य भएपछि यात्रुहरू कठिनाइ सहन बाध्य छन् ।

नेपालगन्ज–गुलरिया सडकखण्ड स्तरोन्नतिको काम तीव्रगतिमा सुरु गरेको शर्मा एन्ड कम्पनीको लापरबाहीका कारण यस क्षेत्रको वातावरण नै प्रदूषित हुने गरेको छ । कुल ३५ किलोमिटर सडकअन्तर्गत १६ दशमलव २ किलोमिटर दुई लेन र ११ दशमलव ४ किलोमिटर फोर लेन सडक निर्माण गर्ने परियोजनाको काम तीव्रगतिमा अगाडि बढेको छ ।

सम्झौता अवधिमा सम्पन्न गर्न निर्माण कम्पनीले सडकलाई तीव्रता दिए पनि गर्नुपर्ने केही आधारभूत कुरालाई अवलम्बन नगर्दा यात्रु भने मारमा परेको यात्रु दिनेश निरौलाले बताए । ‘नेपालगन्जदेखि गुलरिया जाँदा कती सास्ती भोग्नुपर्छ भनेर साध्य छैन’ उनले मिसन टुडेसँग भने, ‘ठेकेदारका कारण सबैले सास्ती पाउँनुपरेको छ ।’

दिनहु“जसो सडकमा सवारी साधन फस्ने समस्या उत्तिकै छ । सडकखण्डमा गुड्ने हेभी सवारीदेखि साना सवारी साधन भासिने गरेका छन् । सडकमा खाल्डाखुल्डी हुँदा पानी जम्ने हुँदा दुर्घटनाको जोखिम झनै बढेको छ ।

वर्षातको समय पानी परिरहेको बेला पनि सडकको निर्माण कार्य भने रोकिएको छैन । नेपालगन्ज–गुलरिया सडकखण्ड निर्माण गर्ने कम्पनीले सडक धुलाम्य हुँदा पानी नछर्किएका कारण र सडकमा खाल्डाखुल्डीका कारण सवारी साधन चलाउन निकै सास्ती भएको सवारी चालकहरू बताउ“छन्् । सो सडकमा यात्रा गर्ने यात्रु गन्तव्यसम्म पुग्दा नचिनिने भइसकेको हुन्छ ।

निर्माण कम्पनीका जिम्मेवार व्यक्ति नवीन शर्मालाई पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्क आउन चाहेनन् । निर्माण कम्पनीले जवाफदेहितातर्फ ध्यान नदिएको यात्रुहरूले दुखेसो पोख्दै आएका छन् ।

उक्त हुलाकी सडक २ अर्ब ७८ करोड २९ लाख ४१ हजार ८३६ लागतमा गत कात्तिक २८ गते सम्झौता भई २०८२ कात्तिक २७ गतेसम्म अन्तिम म्याद रहेको हुलाकी सडक आयोजना नेपालगन्जले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार