बाँके ।
कोहलपुरमा रहेको समता स्कुलले स्टाफ नर्स सेवा सञ्चालनमा ल्याएको छ । बाँकेको कोहलपुर–११ मा २०७३ सालमा स्थापना गरिएको समता स्कुलले सबै कक्षाहरूमा न्यूनतम शुल्कमा अध्यापन गराउँदै आएको विद्यालयले नर्सिङ सेवासमेत विस्तार गरेको हो ।
उक्त सेवाबाट मासिकरूपमा अभिभावहरूको स्वास्थ्यसमेत परीक्षण गरिने विद्यालय सञ्चालक रबि रोकायाले जानकारी दिए । ‘आज हामी खुसी छौँ, आजबाट स्कुलमा नर्सिङ सेवा विस्तार गरेका छौँ,’ रोकायाले भनेका छन् ।
स्कुल नर्स सेवाबाट विद्यालयमा धेरै राम्रो प्रभाव देखिएको विद्यालयकी प्रधानअध्यापक लक्ष्मी पौडेलले बताइन् । प्रत्येक शुक्रबार नानी बाबुहरूको आधारभूत स्वास्थ्य सेवामार्फत तौल, नाप, अक्सिजनको मात्रा, प्रेसर, ज्वरोलगायत परीक्षणसहित महिनाको एक दिन सम्पूर्ण अभिभावहरूको समेत स्वास्थ्य परीक्षण गरिने विद्यालयले जनाएको छ ।
मासिक शुल्क एक सयमा अध्यापन गराउँदै आइरहेको उक्त विद्यालयले कोराना संक्रमणपश्चात अभिभावक भेलामार्फत सम्पूर्ण कक्षाका लागि समान तथा न्यूनतम शुल्कमा पठनपाठन गराइरहेको विद्यालय इन्चार्ज मिरा चन्द्रले जानकारी गराइन् । ‘यसरी सबै कक्षामा न्यूनतम शुल्क लिने विद्यालय नेपालको एक मात्र विद्यालय समता हो,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्