नेपालगन्ज ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारले निजी विद्यालयप्रति विभेद गरेको आरोप लगाएका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, बाँके जिल्ला समितिको नवौँ जिल्ला अधिवेशनको शनिबार नेपालगन्जमा उद्घाटन गर्दै हमालले शैक्षिक क्षेत्रमा निजी विद्यालयले जतिसुकै योगदान दिए पनि सरकारको हेर्ने नजर गलत रहेको उल्लेख गरे ।
पछिल्लो शिक्षा विधेयक यथास्थितिमा पारित गर्न खोजे आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने बताउँदै तत्कालका लागि सरकारसँग १० बुँदे समझदारी कायम गरी आन्दोलन स्थगन मात्र गरिएको स्पष्ट पारे । उनले भने, ‘विधेयक यथास्थितिमा पारित गर्न खोजे पूरा देश नै ठप्प पारिनेछ । अहिले १० बुँदे सहमतिका कारण आन्दोलन स्थगन मात्र गरिएको हो । आन्दोलन सकिएको छैन ।’
जिल्ला अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पूर्वअध्यक्ष कर्णबहादुर शाहीले निजी विद्यालयले पनि घोकन्ते शिक्षा भन्दा जीवन उपयोगी शिक्षा दिन आवश्यक रहेको औँल्याए । ‘हामीले पनि अब सुगा रटाइको शिक्षामा भन्दा जीवन उपयोगी शिक्षा प्रवाह गर्न बढी प्रयास गर्नु आवश्यक छ ।
विश्वले नै संस्कृतलाई विज्ञानको संज्ञा दिँदै अंगीकार गरेको अवस्थामा हामीले किन संस्कृतलाई बहिष्कार गर्ने ?’ उनले गुणात्मक शिक्षाका लागि ठूलो धनराशि बाहिरिएको बताउँदै फेरि पनि सरकारले त्यस्तै खालको शिक्षा नीति ल्याउन खोजेको आरोप लगाए । ‘राज्यले हामीमाथि दोहन गर्दै आएको छ । तर, पनि हामीले भने राष्ट्र निर्माणमा शिक्षाको क्षेत्रबाट योगदान दिँदै आएका छौँ,’ उनले भने ।
सो अवसरमा केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको आरोप लगाए । राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार दुवै परिवर्तन गर्न आवश्यक रहेको औँल्याए ।
एनप्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजीकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका यामबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका रेखा धिताल, शिक्षक महासंघ बाँकेका पवन यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्