मधुर पौडेल । बाँसगढी ।
स्थानीय तहका कर्मचारीलाई निजामती कर्मचारीमा नसमेटिएको भन्दै बाँसगढी नगरपालिकाका कर्मचारीले शुक्रबारको निजामती दिवस मनाएनन् बरु हातमा कालोपट्टी बाँधेर उनीहरूले विरोध प्रदर्शन गरे ।
बिहीबार संयुक्त विज्ञप्ति जारी गरी बाँसगढी नगरपालिकाका कर्मचारीहरूले स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा, वृत्तिविकास तथा अधिकारलगायतमा विभेदपूर्ण मस्यौदा तयार भएको भन्दै निजामती दिवस नमनाउने घोषणा गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ७ सय ५३ स्थानीय तहलाई परिपत्र गरेको सन्दर्भमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई निजामती कर्मचारीको परिभाषाभित्र नसमेटिएको उनीहरूको गुनासो छ ।
स्थानीय तहका कर्मचारीहरूले प्राकृतिकरूपमा समेत निजामती सेवा दिवस मनाउन उपयुक्त नदेखिएकाले निजामती सेवा दिवस बाँसगढी नगरपालिकामा कार्यरत कर्मचारीहरूले बहिष्कार गर्दै विरोधस्वरुप कालोपट्टी बाँध्ने निर्णय गरेका थिए ।
संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, स्थानीय तहका कर्मचारीलाई समेत निजामतीको परिभाषामा समेटिनुपर्ने, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीहरूको सन्दर्भमा एकपटकका लागि समायोजनलाई पुनरावलोकन गरिनुपर्ने लगायतका माग अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस्