पहिलो सेवाग्राहीलाई खादा र अबिरले स्वागत



नेपालगन्ज ।

शुक्रबार निजामती सेवा दिवस बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बाँकेका सरकारी कर्मचारीले आफ्नो कार्यालयमा आएका पहिलो सेवाग्राहीलाई खादा र अबिर लगाएर स्वागत गरेका छन् । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।

हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । विगतमा प्रभातफेरी गरेर निजामती दिवस मनाउने गरेकोमा यसपटक भने सेवाग्राहीलाई स्वागत गरेर मनाइएको हो । मालपोत कार्यालय बाँकेमा यसरी कर्मचारीबाट स्वागत पाउने सेवाग्राहीमा थिइन्, हुम्ला जिल्ला–७ चिप्राकी रुप्सी सुनार ।

नेपालगन्ज–१९, बासुदेवपुरस्थित जग्गा कारोबारको सिलसिलामा सुनार मालपोत कार्यालयमा पुगेकी थिइन् । उनलाई कार्यालयका मालपोत अधिकृत नवीनकुमार खड्कासहितको कर्मचारी टोलीले स्वागत गरेको थियो ।

सेवाग्राहीको सम्मान गर्दै मनाइएको दिवसबाट आम सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । तर दिवसको अवसरमा मात्रै नभई अन्य बेला पनि कर्मचारीहरूले सेवाग्राहीप्रति सम्मानको व्यवहार देखाउनुपर्ने सेवाग्राहीको अनुरोध छ ।

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार